काठमाण्डौ । केरलाको पालघाटमा किसान परिवारमा जन्मिएका यी व्यक्ति पिताको निधनपछि जब घरबाट निस्किए, तब उनको साथमा मात्र ५० रुपैयाँ थियो । आर्थिक समस्याका कारण उनले बीचमा पढाई समेत छाड्नु परेको थियो । आज लगभग चार दशकपछि तिनै व्यक्ति १६ हजार करोड रुपैयाँ अर्थात १५० करोड डलरको धनी बन्न सफल भएका छन् । यस्ता संघर्षशील व्यक्ति हुन् भारतमा ‘शोभा डेभलपर्स’ नामक कम्पनीका अध्यक्ष पिएनसी मेनन् । यी व्यक्ति हालै फोब्र्स पत्रिकाले जारी गरेको अबरमा बस्ने धनी भारतीय मूलका व्यापारीको सूचिमा छैठौं नम्बरमा पर्न सफल भएका छन् । ५० रुपैयाँ लिएर निस्किएका मेनन कसरी अर्बपति भए होलान् ? आउनुहोस् जानौं उनको सफलतापछिको राज ।
मेनन जब १० वर्षका थिए, तब उनका पिताको निधन भयो । यसपछि उनको परिवारमा बिजिनेश सम्हाल्ने कोही भएन, कारण मेननका हजूरबुबा अनपढ थिए । उनकी आमा पनि अधिकांश समय बिरामी पर्ने गर्थिन । यसै कारण मुश्किलले मेननले स्कूलको शिक्षा पूरा गर्न पाएका थिए । प्रारम्भिक शिक्षापछि उनले अगाडि थप पढ्ने इच्छा राखे र कोशिश गरे, तर सफल भएनन् । फोब्र्स म्यागजिनलाई दिएको अन्तर्वार्ताको क्रममा उनले आफूले दुईपटकसम्म बीकम पढ्ने कोशिश गरेको, तर असफल भएको खुलाएका छन् ।
ब्रुनाईका सुल्तानको घरमा पहिलो डिजाइन
मेननले सबैभन्दा पहिला प्रोजेक्टको रुपमा ब्रुनाईका सुल्तानको घरको डिजाइन गरेका थिए । यस अलावा यूएईमा मेननले कयौं ठूला महल तथा बंगलाहरुको डिजाइन गरेका छन् । तर रमाइलो कुरा यो हो कि उनीसँग इन्टेरियर डिजाइनको कुनै पनि कोर्स गरेको सर्टिफिकेट छैन । अर्थात, त्यस्तो कोर्सको उनले औपचारिक शिक्षा हालसम्म लिएका छैनन् ।
सुरुवातमा धेरै दुःख भोगे पनि बिस्तारै–बिस्तारै उनले ओमन लगायतका प्राय सबै अरब देशहरुमा आफ्नो बिजिनेशलाई बिस्तार गरे । ओमनको अलावा उनले भारतमा समेत आफ्नो व्यवसाय बिस्तार गरेका थिए । उनले भारतमा शोभा डेभलपर्स नामको कम्पनी स्थापना गरे । भारतको समेत १२ वटा राज्यमा यो कम्पनी बिस्तार भइसकेको छ र अहिलेको अवस्थामा कम्पनीको कुल नेटवर्थ १५० डलर रहेको छ ।
आधा सम्पत्ति दान
सन् २०१३ मा पिएनसी मेननले त्यस समयको उनको कुल सम्पत्ति ४७.५ करोड डलरमध्ये आधा च्यारिटेबल ट्रस्टलाई दान गर्ने घोषणा गरेका थिए । साथै उनले आफ्नो ट्रस्ट अन्तरगत केरलाको चार गाउँलाई झिलीमिली बनाउने घोषणा गरेका थिए ।
कारोबारको सुरुवात यस्तो थियो
मेननको प्रारम्भिक शिक्षा त्रिसूरमा भएको थियो । सन् १९७६ मा उनको भेट ओमनबाट आएका ब्रिगेडियर सुलेमान अल अदावीसँग भएको थियो । ब्रिगेडियर त्यस समय माछा पक्रनेवाला डुंगा खरीद गर्नका लागि भारत आएका थिए । सुलेमानले मेननलाई साथ–साथ व्यवसाय गर्ने आश्वासनसँगै ओमनका लागि निम्ता दिए, जब कि मेननले पहिलोपटक ओमनको नाम सुनेका थिए । घर गएर उनले ओमनलाई आफ्नो ग्लोबमा खोजे । त्यसपछि उनले सुलेमानको आमन्त्रण स्वीकार गरे ।
त्यसको दुई महिनापछि उनले पासपोर्ट बनाए र ओमन जाने पूर्ण तयारी गरे । ओमन जाने क्रममा उनीसँग मात्र ५० रुपैयाँ थियो, कारण त्यसबेला ओमन जाने भारतीयहरुलाई साथमा ५० रुपैयाँ भन्दा बढी बोक्न बन्देज थियो ।
ओमन जाने क्रममा मेनन निकै उत्साहित थिए । उनलाई आफूप्रति पूर्ण भरोसा थियो र त्यहाँ गएर केही न केही गर्छु भन्ने आत्मविश्वास पनि ।
ऋण लिएर अरबमा कारोबार
सो समयमा मानिसहरु अरब निकै धनी भएको सोच्दथे । यस्ता खालका कुराहरु मेननले पनि सुनेका थिए । तर जब उनी ओमन पुगे, त्यसबेला उनले सुनिएका कुराहरु सबै उल्टो पाए । जुन सुलेमानले मेननलाई व्यवसाय संयुक्त रुपमा सुरु गर्ने सपना देखाएका थिए, वास्तवमा ती व्यक्ति पनि मध्यम वर्गीय परिवारका सदस्य मात्र थिए । सुलेमानसँग पनि व्यवसाय सुरु गर्ने अधिक पैसा थिएन । त्यसपछि दुवैले मिलेर सुरुमा एक स्थानीय बैंकबाट ३ हजार रियाल ऋण लिए । मेननले सुलेमानसँग मिलेर इन्टेरियर डेकोरेशनको काम सुरु गरे । सुरुवातमा उनले निकै धेरै अप्ठ्यारा र उल्झनहरुको सामना गर्नुपर्यो ।
पाँच वर्षमै अरबका टप व्यापारी
पाँच वर्षको कडा मेहेनतपछि मेनन सन् १९८४ मा ओमनका टप चार व्यवसायीको सूचिमा पर्न सफल भए । सन् १९८६/८७ मा उनको द सर्भिस एण्ड ट्रेड ग्रुप अफ कम्पनिज ओमनको टप परफर्मिङ कम्पनीमा सामेल हुने सफलता प्राप्त गर्यो । यो कम्पनी आज पनि ओमनको बजारमा टप स्थानमै छ । साथै, मेनन २००७/०८ मा फोब्र्सले जारी गरेको संसारका अर्बपतिहरुको सूचिमा समेत अट्न सफल भएका छन् । मेननको कुल सम्पत्ति १.२५ अरब डलर रहेको अनुमान गरिएको छ ।
पत्नीको नामबाट ‘शोभा डभलपर्स’
भारतमा उनले आफ्नी पत्नीको नामबाट ‘शोभा डेभलपर्स’ नामक कम्पनी सुरुवात गरेका थिए । उनले आफ्नी पत्नीको नामबाट कम्पनी खोल्नु पछाडिको कारण स्पष्ट पार्दै भनेका छन् कि उनकी पत्नी निकै भाग्यमानी छिन्, मेननको पत्नी शोभासँग विवाह भएपछि नै चमात्कारिक सफलता प्राप्त भएको थियो । भारतमा शोभा डेभलपर्स कम्पनी १२ वटा राज्यमा काम गरिरहेको छ । शोभा डेभलपर्स सन् २००६ मा मुम्बईको शेयरबजारमा सूचिकृत भएको थियो । भारत र खाडी देशमा समेत गरी कम्पनीले २ हजार ८ सय कर्मचारीलाई रोजगारी दिएको छ । कम्पनीले भारत र खाडी मुलुकमा आफूलाई अझ बिस्तार गर्ने योजना बनाइरहेको छ ।
समाजसेवामा समर्पित
मेनन समाजसेवामा समर्पित छन् । जनकल्याणका कयौं कामहरुमा उनको कनेक्सन छ । केरलाको किजाकेचरीमा उनले अन्तर्राष्ट्रिय स्कूल, सुपर स्पेशियलिटी हस्पिटल र फाइभ स्टार वृद्धाआश्रमको निर्माण गरिदिएका छन् । उनको हस्पिटलले विगत ७ वर्षको अवधिमा गरीबीको रेखामुनिका लगभग ३ हजार परिवारको स्वास्थ्य चेकजाँच, तिनका बच्चाको पढाईको व्यवस्थापन र ती परिवारमा रहेका वृद्धाहरुलाई साहार दिने काम गरेका छन् । उनको कम्पनीले सीएसआर कार्यक्रम अन्तरगत करिब २ हजार ५ सय परिवारलाई सम्हालेको छ । ती परिवारलाई उनले सित्तैमा खाना, आवास, शिक्षा, छोरीहरुको विवाह खर्च र जेष्ठ सदस्यका लागि आवासको सुविधा उपलब्ध गराएका छन् ।
मेनन ओमन र भारतमा थुप्रै शिक्षण संस्था खोल्ने योजनामा छन् । मेननका अनुसार यदि तपाई पनि धेरै पैसा कमाउनु हुन्छ भने सबै पैसा परिवारका लागि मात्र खर्च नगर्नुस्, कमाईंको केही हिस्सा समाजसेवामा समेत खर्च गर्ने बानी बसाल्नुस् । उनले यो कामलाई हरेक नागरिकले आफ्नो जिम्मेवारी सम्झनुपर्ने तर्क गर्छन ।
एजेन्सीको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago