काठमाण्डौ ।चालू आर्थिक वर्ष २०७९/८० को लागि हालसम्ममा पाँच वटा जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । 
 

आइएमई लाइफ, एशियन लाइफ, मेट लाइफ, रिलायबल नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सले गत आवको वित्तीय विवरण स्वीकृत गराई आफ्ना बीमितहरुका लागि नयाँ बोनसर सार्वजनिक गरेका हुन् । 
हरेक वर्ष बीमांकी मूल्यांकन (एक्चुरीयल भ्यालुएसन) पछि मात्रै जीवन बीमा कम्पनीले आफ्ना बीमितका लागि बोनस घोषणा गर्न पाउँछन् । 

 

कम्पनीहरुको आव २०७९/८० को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बिमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै ती कम्पनीले प्रचलनमा ल्याएका मुनाफामा सरिक हुन जीवन बीमा योजनाहरुमा नयाँ र अन्तरिम बोनसका रुपमा नयाँ बोनसदर लागू हुने छ ।
 

मेट लाइफले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ, सिटिजन लाइफले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म, रिलायबल नेपाल लाइफले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म, एशियन लाइफले न्यूनतम ४२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म र आइएमई लाइफले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 
एशियन लाइफ इन्स्योरेन्स 
एशियन लाइफ  इन्स्योरेन्सले विभिन्न बीमा योजनाहरुमा न्यूनतम प्रतिहजार ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 

 

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा न्यूनतम प्रतिहजार ६१ रुपैयाँदेखि अधिकतम७५ रुपैयाँ, बालबालिकाको सावधिक जीवन बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि ६० रुपैयाँसम्म, सावधिक जीवन बीमालेखमा४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म र सामुहिक सावधिक तथा अन्य बीमालेखमा ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 
 

उक्त बीमालेखहरुमा वितरण गरिने बोनस योजनाको अवधिअनुसार फरक पर्ने कम्पनीले बीजशालालाई बताएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न बीमालेखहरुमा न्यूनतम प्रतिहजार २२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सावधिक, बाल सावधिकतथा सामूहिक जीवन बीमालेखमा ३२ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 
 

त्यस्तै, सावधिक तथा आजीवन बीमालेखमा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

साथै अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा ३२ रुपैयाँदेखि ६३ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३० रुपैयाँदेखि ६३ रुपैयाँ, बाल अग्रिम भुक्तानी सावधिकमा ३० रुपैयाँदेखि ६५ रुपैयाँ, बालकिरण पोलिसीमा ३० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 
 

कम्पनीका अनुसार उक्त बीमालेखहरुमा वितरण गरिने बोनस योजनाको अवधिअनुसार फरक पर्नेछ ।

मेट लाइफ इन्स्योरेन्स 
मेट लाइफ इन्स्योरेन्सले विभिन्न बीमालेखहरुमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस घोषणा गरेको छ । 

 

सावधिक जीवन बीमालेखमा ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, शिक्षा संरक्षण जीवन बीमालेखमा ६० रुपैयाँदेखि ८० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
 

कम्पनीकाअनुसार उक्त बीमालेखहरुमा वितरण गरिने बोनस योजनाको अवधिअनुसार फरक पर्नेछ ।
रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफको विभिन्न बीमालेखहरुमा २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 

 

कम्पनीले रिलायबल सावधिक जीवन बीमामा ५० रुपैयाादेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, रिलायबल सुलभ जीवन बीमालेख सुलभ बालजीवन बीमाप्लस योजनामा २४ रुपैयाँदेखि ४० रुपैयाँ, रिलायबल उच्चशिक्षा योजनामा ६० रुपैयाँदेखि ६५ रुपैयाँ, सावधिक तथा आजीवनबीमा योजनामा ३० रुपैयाँदेखि ५० रुपैयाँ, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा २० रुपैयाादेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 
 

कम्पनीका अनुसार उक्त बीमालेखहरुमा वितरण गरिने बोनस योजनाको अवधिअनुसार फरक पर्नेछ ।
सिटिजन लाइफ इन्स्योरेन्स 
सिटिजन लाइफ इन्स्योरेन्सले २५ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख) का बीमितले ४४ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

 

त्यस्तै, सावधिक (रेगुलर) जीवन बीमालेखमा कम्पनीले ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 
 

यसका साथै सिटिजन शुभारम्भ (सावधिक प्लस) योजनामा ३५ रुपैयाादेखि ७५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी सावधिक जीवनबीमा योजनामा २५ रुपैयाँदेखि २८ रुपैयाँ, सिटिजन बालभविष्य योजना सावधिक बीमालेखमा ४४ रुपैयाँदेखि ६७ रुपैयाँ र सावधिक तथा आजीवन बीमालेखमा ३७ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।