काठमाण्डौ ।प्रिमियममा आईपीओ ल्याएको चार ओटा जीवन बीमा कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले मंगलबार मात्रै बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले पाँच वर्षसम्म आर्जित मुनाफाबाट कायम चुक्तापूँजीको पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । 
 

कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० सम्ममा आर्जित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनकालागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो । 
 

कम्पनीले कायम चुक्तापूँजीको पाँच प्रतिशत दरको १८ करोड ७५ लाख रुपैयाँको बोनस बाँड्ने घोषणा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ७५ करोड रुपैयाँ छ । पाँच प्रतिशत बोनस बाँडेपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँ पुग्नेछ । 
 

प्रिमियम रकमबाट बोनस पाउने आशामा बसेका सेयरधनीहरु लाभांश घोषणा पछि भने निराश बन्न पुगेका छन् ।

कतिपय लगानीकर्ताहरु प्रिमियममा आईपीओ ल्याएका जीवन बीमा कम्पनीहरुले संकलन भएको प्रिमियम रकमबाट बाँड्न पाउने भ्रममा थिए ।
तर नेपाल बीमा प्राधिकरणले भने प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीलाई थप प्रिमियमबाट बोनस बाँड्न अंकुश लगाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार आइएमई लाइफ इन्स्योरेन्सले भने थप प्रिमियमबाट बोनस बाँड्न पाउनेछ । 
‘आइएमई लाइफले गत आवमा आईपीओ निष्कासन गरेकोले सो कम्पनीले प्रिमियम रकमबाट अपुग पूँजी बराबरको मात्रै बोनस बाँड्न पाउनेछ’ पौडेलले भने, ‘अन्य तीन कम्पनीको हकमा भने चालू आवमा मात्रै आईपीओ जारी भएका कारण थप प्रिमियमबाट बोनस बाँड्न पाइदैंन।’ 
साथै अन्य कम्पनीले भने थप प्रिमियम रकम कोषमा सञ्चित गरी पूँजीको रुपमा गणना गर्न पाउने पनि उनले बताए । 

‘अन्य कम्पनीले थप हुन आएको प्रिमियम सेयरधनीलाई बोनसको रुपमा बाँड्न पाउँदैनन् । कम्पनीहरुले आफैंले आर्जन गरेको मुनाफाबाट बोनस बाँडेर अपुग पूँजीको रुपमा उक्त प्रिमियम रकम गणना गर्न सक्नेछन्’ पौडेलले भने । 
 

प्रिमियममा आईपीओ निष्कासन गरेर १ अर्ब ६२ करोड रुपैयाँ कम्पनीको कोषमा सञ्चित छ । बोनस सेयर बाँडेपछि कम्पनीको पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ पुग्नेछ ।

प्रिमियमबापत संकलन भएको रकम पूँजीको रुपमा गणना गर्न पाउने भएपछि कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ सहजै पुग्नेछ ।