काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६० खर्ब रूपैयाँ नाघेको छ।

विप्रेषण आप्रवाह र आर्थिक गतिविधिमा देखिएको वृद्धिसँगै निक्षेप बढेपछि बैंकहरूमा अधिक तरलता देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिर २८ गतेसम्ममा बैंकिङ प्रणालीमा  ६० खर्ब ३ अर्ब निक्षेप रहेको छ ।गत बिहीबारसम्ममा बैंक, वित्तीय संस्थाले ६० खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षमा बैंकहरूमा २ खर्ब ३२ अर्ब निक्षेप थपिँदा कर्जा भने १ खर्ब १४ अर्ब रुपैयाँले मात्र बढेको छ । 

हालसम्ममा  बैंक तथा वित्तीय संस्थाहरुले ४९ खर्ब ९२ अर्ब रूपैयाँ बराबर कर्जा लगानी गरेका छन्।  कर्जा निक्षेप अनुपात ८.३६ प्रतिशत छ। 
 

रेमिटेन्समा भइरहेको सुधारले निक्षेप बढेको हो ।राष्ट्र बैंकका अनुसार पछिल्लो चार महिनामा मासिक १ खर्ब रूपैयाँभन्दा धेरैले रेमिटेन्स नेपाल भित्रिरहेको छ। 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा प्रवाह बढाउन नीतिगत दरहरू घटाइसकेको छ ।चालू आवमा कर्जा प्रवाह ११.५ प्रतिशतसम्मले बढ्ने प्रक्षेपण गरिएकोमा २०८० असोज मसान्तमा ४.८ प्रतिशतले मात्र वृद्धि भएको छ । 

राष्ट्र बैंकले नीतिगत दरहरू घटाएसँगै बैंक, वित्तीय संस्थाहरूले पनि निक्षेपको ब्याजदर घटाउँदै कर्जा बढाउन जोड दिएका छन् ।बैंकहरूले आकर्षक योजना ल्याइरहँदा पनि कर्जा प्रवाह भने बढ्न भने सकेको छैन ।

अधिक तरलता भएपछि अन्तरबैंकलगायतअल्पकालीन ब्याजदर पनि न्यून विन्दुमा झरेका छन् । बिहीबार अन्तरबैंक कारोबारको ब्याजदर २.६२ प्रतिशत कायम छ ।