 
                     
                                
                             
                                    काठमाण्डौ। जापानी मोटर निर्माता कम्पनी टोयोटाको सहायक कम्पनी दाइहात्सुले सुरक्षा मापदण्डमा कमजोरी रहेको रहस्य खुलेपछि ६४ ओटा मोडलको कारको बिक्री रोक्ने भएको छ ।
परीक्षणमा समस्याहरू फेला परेको रहस्य खुलेपछि मातृ कम्पनी टोयोटाले बुधबार यस्तो निर्णय गरेको हो । कम्पनीले ६४ ओटा मोडलका सवारी साधनका सुरक्षा मापदण्डमा धाँधली गरेको खुलासा भएको बताएको छ । यीमध्ये करिब २ दर्जन मोडल टोयोटा ब्रान्डको नाममा बिक्रीवितरण हुने गरेको छ ।
कम्पनीले अहिले बनाएर बेचिरहेका अधिकांश मोडलमा सुरक्षा परीक्षणमा लापरवाही गरेको पाइएको छ । यस्तो रहस्य खुलासा भएपछि यातायात मन्त्रालयले बिहीबार ओसाकास्थित दाइहात्सुको मुख्यालयमा स्थलगत निरीक्षण गर्ने बताएको छ।
गत अप्रिलमा स्वतन्त्र समितिले ८८ हजार थान साना कारको दुर्घटनासम्बन्धी सुरक्षा परीक्षणमा चलखेल भएको खुलेपछि छानबिन सुरु गरेको थियो । तर यसअघि सोचिएको भन्दा धेरै नै सवारी साधनको सुरक्षा मापदण्डमा ठगी गरिएको खुलासा भएको छ । यो कान्डले कम्पनीले बनाएको सवारी साधनको स्तर र सुरक्षामा ठूलो प्रश्न उठाएको छ भने कम्पनीको प्रतिष्ठामै दाग लाग्ने हो कि भन्ने चिन्ता थपिएको भन्दै रोयटर्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।
उता टोयोटाले भने दाइहात्सुलाई पुनः जीवित गर्न आधारभूत सुधारको खाँचो रहेको र प्राणीकरण सञ्चालनको समीक्षा गर्न पनि आवश्यक रहेको बताएको छ । टोयोटाले भनेको छ, ‘यो एकदमै महत्त्वपूर्ण काम हुनेछ जुन रातारात पूरा गर्न सकिँदैन,यसका लागि व्यवस्थापन र व्यवसाय सञ्चालनको समीक्षा मात्र होइन संगठन र संरचनाको समीक्षा पनि आवश्यक पर्दछ।’
दाइहात्सुका अध्यक्ष सोइचिरो ओकुडाइराले भने अटोमेकरले धोखाधडी माध्यमबाट प्राप्त गरेको कुनै पनि नियामक क्लियरन्स कानूनद्वारा रद्द गर्न सकिने बताएका छन् ।
टोयोटाले बुधबार दक्षिणपूर्वी एशियाली बजार थाइल्याण्ड, इन्डोनेशिया, मलेशिया, कम्बोडिया र भियतनाम र मध्य तथा दक्षिण अमेरिकी देश मेक्सिको, इक्वेडर, पेरु, चिली, बोलिभिया र उरुग्वेका मोडल प्रभावित भएको उल्लेख गरेको छ ।
यो वर्षको पहिलो १० महीनामा दाइहात्सुले ११ लाख थान सवारी साधन बनाएको छ । यीमध्ये ४० प्रतिशत सीमापारका कारखानामा बनेका हुन् । यही अवधिमा कम्पनीले विश्वभर ६ लाख ६० हाजर थान सवारी साधन बिक्री गरेको छ । टोयोटाको कुल बिक्रीमा दाइहात्सुको ७ प्रतिशत मात्र हिस्सा छ ।-एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19