काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकले १० बराबर ३(३० प्रतिशत) अनुपातको हकप्रदका लागि भदौ ३० गतेलाई बुक क्लोजको मिति तोकेको छ । 

यो बैंकको हकप्रद सुरक्षित गर्न अब ६ कार्यदिन मात्र बाँकी छ । यो अवधिभित्र तपाईले ओमको सेयर खरीद नगरे हकप्रद भर्ने अवसर पाउनुहुनेछैन । 

भदौ २९ गतेसम्म यो बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने बैंकले प्रष्ट्याएको छ । 

भदौ १ गते धितोपत्र बोर्डबाट हकप्रद निश्कासनको स्वीकृति पाएको यो बैंकले सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

ओम डेभलपमेन्ट बैंकले १०० रुपैयाँ प्रतिकित्ताको दरले कुल ४९ लाख ३१ ह्जार ८ सय ३५ कित्ता सेयर निश्कासन गर्दैछ । मनास्लु विकास बैंकसँगको मर्जरपछि ओम डेभलपमेन्ट बैंकको सेयर कारोबार हालसालै खुलेको हो । 

यो विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा ४३ करोड ३४ लाख खूद नाफा आर्जन गरेको छ । हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी २ अर्ब १३ करोडको उचाईमा पुुग्नेछ ।