नयाँदिल्ली । कोरोनाको दोश्रो लहर तीव्र रुपमा फैलिएको भारतमा विगत ९ दिनदेखि थप संक्रमितको संख्या भन्दा निको हुनेको संख्या लगातार बढिरहेको छ । 

भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँका मिडियाहरुले जनाएअनुसार त्यहाँ सक्रिय संक्रमितको संख्या र निको हुने दर पनि बढ्न थालेको छ । 

बिहीबारसम्म भारतमा एक्टिभ केस(सक्रिय संक्रमित संख्या) १२.१ प्रतिशतमा सीमित बन्न पुगेको छ भने कोभिड ठीक हुने दर पनि बढेर ८६.७ प्रतिशत पुगेको छ । 

भारतमा मे ३ सम्म सक्रिय संक्रमितहरु कुल संक्रमितको १७.१३ प्रतिशत थिए । निको हुने दर ८१. ७ प्रतिशत थियो । गत १० दिनको अवधिको सक्रिय संक्रमित र निको हुने दर तुलना गरेर हेर्दा १० दिनमध्ये ९ दिन निको हुने दर बढी रहेको पाइएको छ । भारतमा रहेका सक्रिय संक्रमितमध्ये ६९ प्रतिशत ८ वटा राज्यका छन् । २१ राज्य यस्ता छन्, जहाँ दैनिक थपिने संक्रमितको संख्या भन्दा निको हुनेको संख्या लगातार बढिरहेको छ । 

मन्त्रालयका अनुसार भारतमा पोजिटिभिटी रेट १३.२ प्रतिशतमा सीमित बनेको छ । १९ राज्यमा ५० हजारभन्दा कम सक्रिय संक्रमित रहेका छन् ।

महाराष्ट, केरेला, आन्ध्र प्रदेश, पश्चिमबंगालमा पनि संक्रमितको संख्या घटिरहेको छ । तर, तमिलनाडूमा अझै पनि संक्रमितको संख्या बढिरहेको छ । 

महाराष्ट, राजस्थान, यूपी, हरियाणा, गुजरात, छत्तीसगढ जस्ता राज्यमा संक्रमित संख्या र संक्रमण दर दुवै तीव्र रुपमा घटिरहेका छन् । बिहार, मध्यप्रदेश, दिल्ली र झारखण्डमा संख्यामा समेत कमी आइरहेको छ । तर, तमिलनाडू, मेघालय, त्रिपुरा र मणिपुरमा भने संक्रमितको संख्या बढिरहेको छ ।