काठमाण्डौ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये बीमा कम्पनीहरुले लाभांश घोषणा सुरु गर्न थालेका छन् । 
 

बैंक, वित्तीय कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । हालसम्म नौ बीमा कम्पनीले लाभांश सम्बन्धी प्रस्ताव नेप्सेमा पेश गरेका छन् ।

जसमध्ये पाँच वटा बीमा कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् भने बाँकी चार वटा कम्पनीले सञ्चित मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेका छन् । 
 

हालसम्म नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांशवितरण गर्ने निर्णय गरेका छन् । 
 

यसैगरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन लाइफ, नेको इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफले भने लाभांश नबाँड्ने निर्णय गरेका छन् । 
लाभांश प्रस्ताव गर्ने कम्पनीमध्ये नेपाल इन्स्योरेन्सले भने वार्षिक साधारण सभाबाटै प्रस्ताव पारित गरिसकेको छ । 

 

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 
लाभांश प्रस्ताव गर्ने कम्पनीहरु :
सञ्चित मुनाफाबाट हालसम्म पाँच वटा बीमा कम्पनीले मात्रै लाभांश वितरण प्रस्ताव गरेको छ । जसमा तीन निर्जीवन बीमा कम्पनी छन् भने दुई जीवन बीमा कम्पनी छन् । 

 

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् भने जीवन बीमा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् । 
 

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको बीमाङ्की मूल्याङ्कन (एक्चुरीयल भ्यालुएसन) को कार्य ढिला हुने भएकाले बोनसदर, लाभांश घोषणा र साधारणसभा प्रक्रिया एक वर्ष ढिलो हुने गर्दछ । 
 

एनएलजी इन्स्योरेन्सले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९४७प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 
 

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि गत आवको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ । जसमा कम्पनीले ८.६३ प्रतिशत बोनस र ६.३७प्रतिशत नगद लाभांश छुट्याएको छ । 
 

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न माघ २५ गते ३०औं वार्षिक साधारण सभासमेत आह्वान गरेको छ । 
 

यस्तै, प्रिमियम मूल्यमा आईपीओ ल्याएका रिलायबल नेपाल लाइफ र सिटिजन लाइफले भने अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आ–आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।

रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको छ । 
त्यस्तै, सिटिजन लाइफले पनि अघिल्लो आवकै मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको छ । 
यी हुन् सेयरधनी निराश बनाउने ४ कम्पनी
चार बीमा कम्पनीले भने आफ्ना सेयरधनीहरुलाई निराश बनाएका छन् । दुई जीवनबीमा र दुई निर्जीवन बीमा कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । 
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने र उक्त आवको वित्तीय विवरण नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । 

त्यस्तै, साविक युनियन, प्राइम र गुराँस लाइफ एकापसमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सले पनि आफ्ना सेयरधनीहरुको हात रित्तो बनाएको छ । जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गरे पनि कम्पनीले सेयरधनीहरुलाई निराश बनाएको छ । 
 

कम्पनीले भने अघिल्लो आवको सञ्चित मुनाफा सेयरधनीहरुलाई वितरण नगरि रिजर्भमा राख्ने बताएको छ । 
 

त्यस्तै, नेको इन्स्योरेन्सले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिफल नबाँड्ने निर्णय गरेको छ । यता सानिमा रिलायन्स लाइफले पनि अघिल्लो आवको मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेको छ ।

साविक सानिमा लाइफ र रिलायन्स लाइफको छुट्टाछुट्टै मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँड्ने प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृत गराइसकेको छ । कम्पनीले सो सम्बन्धी प्रस्तावपारित गर्न माघ ११ गते साधारण सभा आह्वान गरिसकेको छ । 
 

प्राधिकरणको निर्देशन बमोजिम बीमा कम्पनीहरुले सञ्चित मुनाफा रिजर्भ फण्डमा सञ्चित गर्नुपर्ने व्यवस्था भए बमोजिम बीमा कम्पनीहरुले लाभांश नबाँड्ने निर्णय गरेका छन् ।