काठमाण्डौ। नेपालको एकमात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरकुमार रायमाझीले अब बीमकहरुले विगतमा भोगेजस्तो समस्या झेल्नु नपर्ने बताएका छन्।

जुम एपबाट फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिएको कम्पनीको आफ्नो सातौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सीईओ रायमाझीले नेपाल सरकारले बीमा क्षेत्रलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन बीमकहरुले विगतमा भोग्नु परेका समस्याहरुलाई समाधान गर्ने उद्देश्यअनुरुप यो कम्पनीको स्थापना भएको बताए। बीमा क्षेत्रलाई समयसापेक्ष बनाउन क्षमता वृद्धि गर्दै स्वदेशी तथा विदेशी बीमक पुनर्बीमकलाई विश्वास दिलाई अगाडि बढ्न कम्पनी तयार रहेको उनको भनाइ थियो। 

सीईओ रायमाझीले कम्पनीमा लोकसेवामार्फत दक्ष जनशक्ति अभिवृद्धि गर्न कम्पनी लागिपर्ने बताए। उनले कम्पनीमा दक्ष जनशक्ति आपूर्ति भित्र्याएर तिनको क्षमता अभिवृद्धि गर्ने कार्यभार रहेको बताए। 

अन्तर्राष्ट्रियस्तरको रेटिङ प्राप्त नगरीकन व्यवसाय प्रवद्र्धन गर्न समस्या भएको उल्लेख गर्दै रायमाझीले त्यसका लागि धेरै काम गर्न बाँकी रहेको बताए। उनले अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर निर्माण गरेर व्यवसायलाई व्यवस्थित ढंगले अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

रायमाझीले विदेशमा शाखा विस्तार गरेर पनि सेवा प्रवाह गर्न सकिने उल्लेख गरे। ‘लगानीका क्षेत्रमा हाम्रो कमजोरी भनेको राज्यले प्राथमिकीकरण गरेका कृषि, पर्यटन र उद्योगमा लगानी हुन नसक्नु हो। यसका लागि यो आर्थिक वर्षमा हामीले प्रक्रिया आरम्भ गरेका छौँ’, उनले भने। 

रायमाझीले उनले सुव्यवस्थित म्यानेजमेन्ट इनफरमेसन सिस्टम(एमआईएएस) स्थापना गर्नका लागि निकै पहल, मेहनत र प्रयत्न गर्न आवश्यक रहेको औँल्याए। 

कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले  विगतमा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका आर्थिक जोखिम तथा प्राकृतिक विपत्तिलाई अन्य पुनर्र्बीमा कम्पनीले पर्याप्त सुरक्षा प्रदान नगरेको अवस्थामा नेपाल पुनर्बीमा कम्पनीको स्थापनाले नेपाली बीमा कम्पनीहरुलाई जोखिम व्यवस्थापन गर्न तथा बीमा व्यवसाय विस्तार गर्न धेरै सहयोग पुगेको बताए। ‘कृषि तथा पशुपन्छी बीमा गर्न अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरु पन्छिएको अवस्थामा नेपाल पुनर्बीमा कम्पनीले सोको पुनर्बीमा प्रदान गरिरहेको छ’, उनले भने, ‘यसले नेपालमा कृषि तथा पशुपंक्षी बीमाको विकासमा उल्लेख्य योगदान पुर्याएको छ।’