काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व रहेको अवगत गराएको छ। 

वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो अवगत गराएको हो। ‘कर्जा प्राप्त गरेपछि जुन प्रयोजनका लागि लिइएको हो, सोही प्रयोजनमा मात्रै प्रयोग गर्नु र पूर्वनिर्धारित सर्तअनुसार कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो’, सूचनामा भनिएको छ।

कर्जाका रुपमा प्रवाह हुने रकम कुनै व्यक्ति वा संस्थाको निजी सम्पत्ति नभई बचतकर्ताको रहेको केन्द्रीय बैंकले प्रस्ट पारेको छ। ‘सम्बन्धित पक्षले पूर्वनिर्धारित सर्तबमोजिमका दायित्व पूरा नगर्दा कानुनी कारबाहीमात्र नभई वित्तीय मध्यस्थताको सन्तुलन बिग्रिने र वित्तीय स्थायित्वमा समस्या आउने हुन सक्छ’, राष्ट्र बैंकले भनेको छ। 

यद्यपि कर्जा सदुपयोग गरी निश्चित उद्यम तथा व्यवसाय गर्दागर्दै कुनै कार्यकारणले समयमा कर्जा भुक्तानी गर्न नसक्ने अवस्था आइपरेमा बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी तोकिएका सर्तको अधीनमा रही पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सकिने व्यवस्था गरिएको पनि सूचनामा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले बचतकर्तासँग भएको सञ्चित रकम जम्मा गर्ने र वित्तीय स्रोतको आवश्यकता भएकालाई कर्जा उपलब्ध गराउने कार्य गरी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने गर्दछन्।