काठमाण्डौ । आफूले ल्याएको आर्थिक नीतिका कारण अर्थतन्त्रमा प्रभाव पार्न थालेपछि र त्यसको चर्को आलोचना भएपछि यूकेकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्।

प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्।

बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्।

नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरिन्।

ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताएकी छन्।

पैँतालीस दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी बीबीसीले जनाएको छ । 

उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए।

तत्कालीन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनी बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू सुरु भएका थिए।

बुधवार राति संसद्को तल्लो सदन हाउस अफ कमन्समा फ्र्याकिङ भनिने तेल उत्खनन प्रक्रियासम्बन्धी मतदानको क्रममा देखिएका नाटकीय दृश्यहरू पछि नै उनको राजीनामाको चर्चा उठेको थियो। त्यसपछि त्यस्तो माग झन् चर्को हुँदै गएको थियो।

प्रमुख विपक्षी दल लेबरका नेता कीअर स्टारमरले अब लिज ट्रसले राजीनामा दिएपछि देशमा नयाँ आम निर्वाचन हुनुपर्ने माग गरेका छन्।

उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्। लिज ट्रसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए।

कन्जर्भेटिभ पार्टीमा उनीसँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनकलाई पछि पार्दै डेढ महिनाअघि लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन्।

उनले ५७ प्रतिशत मत पाउँदा सुनकले ४३ प्रतिशत मात्र मत पाएका थिए।

-बीबीसीको सहयोगमा