काठमाण्डौ । हेर्दा र सुन्दा ‘सामान्य’ जस्तो लाग्ने ‘अक्षम्य’ गल्तीका कारण नेपाल इन्भेष्टमेन्ट फसेको छ । 

आर्थिक वर्ष ०७३/७४ को नाफाबाट सेयरधनीलाई दिने भनेको नगद र सेयर लाभांशको बिषयमा गलत सूचना प्रवाह गरेको यो बैंकले ‘टाइप गडबडी’ भन्दै घटनालाई सामान्य बनाउन खोजे पनि नियामकले उसलाई कस्ने तयारी थालेको छ । 

नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट बैंकले नगद र सेयर लाभांशको बिषयमा प्रवाह गरेको गलत सूचनाले धेरै लगानीकर्ताको रकम डूूबेको भन्दै अक्षम्य गल्तीबाट उत्पन्न परिस्थितिका बीच लगानीकर्ताको हितलाई संरक्षण गर्ने उद्देश्यले बैंकमाथि आवश्यक कारबाही थालेको छ । 

बोर्डका प्रवक्ता निरज गिरीले बिजशालासँग कुरा गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले माफ गर्नै नसकिने गल्ती गरेको स्पष्ट पारी उसलाई स्पष्टीकरण सोधिएको खुलाएका छन् । ‘घटना कसरी र के भएको हो भनेर हामीले लेखी पठाएका छौ ।’ उनले थपे–‘बैंकले दिएको जवाफको आधारमा अन्य आवश्यक कारबाही अगाडि बढाइनेछ ।’ उनले यो बिषयमा नेपाल स्टक एक्सचेञ्ज समेत गम्भीर बन्नुपर्नेमा जोड दिंदै उसले समेत यसको गम्भीर छानबिन गर्नुपर्ने र बैंकलाई प्रष्टीकरण सोधी आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिए ।

बैंकले घटनालाई हलुका रुपमा लिएको टिप्पणी गर्दै उनले भने–‘यो बैंकको गम्भीर र अक्षम्य भूल हो, यो सजिलो इस्यू होइन । गलत सूचनाका कारण बैंकको सेयरमा पैसा फसाउनेहरु धेरै डूूबेका छन् । त्यसको क्षतिपूर्ति कसले भर्छ ?’  

यो बैंकले बुधबार बजार खुलेलगत्तै भदौ २१ गते बसेको ४८२ औं बोर्ड बैठकको निर्णय भन्दै २५ प्रतिशत बोनस सेयर र १५  प्रतिशत नगद लाभांश वितरण गर्ने सूचना प्रवाह गरेको थियो । यो सूचनाका कारण बैंकको सेयर मूल्य एकाएक उचालिएको थियो । तर, त्यसको केही समयपछि ‘टाइप मिस्टेक’ भन्दै बैंकले अघिल्लो सूचनालाई सच्याई २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको निर्णय भएको बतायो । यसपछि यही प्रकरणले बजार तातेको छ । 

लगानीकर्ताहरुले बैंकको गलत सूचनाका कारण आफूहरुको लाखौं डूूबेको भन्दै धितोपत्र बोर्डमा उजुरीको तयारी गरेका छन् । लगानीकर्ताको उजुरी आउनुुअघि नै अनलाइन मिडियाहरुमा आएका समाचारहरुको आधारमा आफूहरुले छानबिन र कारबाही प्रक्रिया अगाडि बढाएको धितोपत्र बोर्डका प्रवक्ताको भनाई छ । 

यो प्रकरणले प्रतिष्ठित बैंकको विश्वसनीयतामाथि नै प्रश्न उठेपछि बैंकले नेप्सेको वेबसाइटमार्फत पटक–पटक यो बिषयलाई प्रष्ट्याउन खोजे पनि लगानीकर्ताको आक्रोश साम्य हुने अवस्था छैन । यो घटनालाई सामान्य रुपमा सुुल्झाएर उम्किने यो बैंकको प्रयास सफल हुने अवस्था देखिन्न ।  

नेपाल इन्भेष्टमेन्ट बैंकका कम्पनी सचिव सुधिरमान श्रेष्ठले नेप्सेको वेबसाइटमा दोश्रो पटक ‘स्पष्टीकरण’ भन्दै सूचना प्रकाशन गरेका छन् । जसमा उनले टाइप मिस्टेकका कारण गल्ती भएको कुरामै जोड दिएर पन्छिन खोजेको देखिन्छ । बैंकले प्रकाशन गरेको स्पष्टीकरणमा लगानीकर्तालाई परेको मारको बिषयमा केही पनि बोलिएको छैन । यसले पीडित लगानीकर्तालाई थप आक्रोशित तुल्याएको छ ।