– मनिष सोती
काठमाण्डौ । पछिल्लो समय आफ्ना नजिकका व्यक्तिलाई विभिन्न अवसरहरुमा उपहारस्वरुप बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ। जन्मदिन, विवाह, चाडपर्व तथा पास्नी जस्ता विभिन्न अवसरमा आफ्नो घरपरिवार, साथीभाइ, इष्टमित्र तथा नजिकका व्यक्तिलाई उपहारस्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ खालको ट्रेन्ड चलेको छ।
नेपालीहरुको महान पर्व बडादसैँलाई आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने पर्वको रुपमा लिइन्छ। खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्म फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार ४ दिनको महापर्व बडादसैँ हो।
विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टीका र जमरा लगाएर आर्शिवाद थापेर मनाइन्छ। अझै पछिल्लो समय दसैँमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई रातो टीका, जमराका साथमा दक्षिणासमेत दिने प्रचलन छ। विजयादशमीको दिन आ–आफ्नो गच्छेअनुसार मान्यजनबाट टीका लगाइसकेपछि दक्षिणा दिने गरिन्छ।
सुख, शान्ति, शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्र्याउनु हो भन्ने आमविश्वास पनि छ। त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको समेत पाइन्छ।
दसैँमा टीका लगाएर पाएको दक्षिणालाई फजुल खर्च गर्नुभन्दा त्यसको बचत गर्दा उचित मानिनेछ। स–सानो रकमको बचतबाट भविष्यमा हुन सक्ने जोखिम कभर हुने भएको हुँदा बुद्धिजीवी व्यक्तिहरुले दसैँमा पाएको दक्षिणाले बीमा गराई त्यसको भरपुर सदुपयोग गर्ने गर्दछन्। केहीले बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा बचत पनि गरेका हुन्छन्।
जीवन बीमा गर्दा भने अझै डबल फाइदा पनि हुने बीमा विज्ञहरु बताउँछन्। दसैँमा टीका थापेर दक्षिणा स्वरुप पाइने रकम जम्मा गरी आफ्नै वा आफ्ना परिवारलाई उपहारस्वरुप बीमा पोलिसी उपहार दिनु फाइदाजनक हुने बीमाकर्मीहरु बताउँछन्।
स–सानो रकम बचत गर्दा भविष्यमा हुन सक्ने रिस्कसमेत कभर हुने भएकोले दक्षिणाको रकमबाट बीमा गर्नु उपयुक्त हुने बीमा विज्ञ तथा नेपाल पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष रविन्द्र घिमिरे बताउँछन्।
बीमा गर्दा बचत हुनुका साथै भविष्यमा हुन सक्ने दुर्घटनाजस्ता जोखिमहरुको पनि कभर गर्ने भएकोले दक्षिणास्वरुप पाएको रकम बीमाका लागि खर्चिनु उपयुक्त मानिन्छ। साथै, बीमा गर्दा आर्थिक सुरक्षा हुने, जोखिम भार कम पर्ने, करमा छुट हुने, ऋणको सुविधा, परनिर्भरता उन्मूलन, भविष्य योजनाको निर्माण र बचत गर्न प्रोत्साहन हुने भएकोले बीमा गर्दा फाइदा हुने विज्ञहरुको भनाइ छ।
कति रुपैयाँको बीमा गराउन सकिन्छ ?
हाल बीमा कम्पनीहरुमा ५० हजार रुपैयाँमाथिको जतिको पनि जीवन बीमा गराउन सकिन्छ। सामान्यतया ५ वर्षदेखि ५४ वर्ष अवधिसम्मको बीमा गराउन पाउने प्रावधान रहेको छ। बीमितले आफ्नो आर्थिक अवस्था हेरेर बीमा गर्नुपर्ने हुन्छ।
मानौँ बीमितले १० वर्षे अवधिको लागि ५ लाख रुपैयाँ बीमांक रकमको बीमा गराउँदा वार्षिक किस्ता लगभग ३८–४० हजार रुपैयाँ (अनुमानित)कम्पनीलाई तिनुपर्ने हुन्छ। तर, बीमितले आफुले खरिद गरेको पोलिसीमा दुर्घटना मृत्यु बीमा, पूर्ण स्थायी अशक्तता, घातक रोग बीमाजस्ता सेवासमेत लिएमा ती सुविधा वापतको छुट्टै प्रिमियम कम्पनीलाई तिर्नुपर्ने हुन्छ।
मानौँ, कुनै एक व्यक्तिले दसैँमा दक्षिणावापत ४०–५० हजार रुपैयाँ आर्जन गर्दछ भने ५ लाख रुपैयाँको बीमा गराउँदा ढुक्कसँग प्रिमियम तिर्न सक्दछ। पहिलो वर्षको दसैँबाट पाएको दक्षिणाले बीमा गराउने र अन्य वर्षको दसैँबाट आएको दक्षिणाबाट प्रिमियम तिर्न सकिन्छ।
जीवन बीमा कसरी र कहाँ गराउने ?
हाल १४ वटा जीवन बीमा कम्पनीमध्ये बीमितले कम्पनी छानेर बीमा गराउन सक्नेछन्। तर, कम्पनीको बोनसरेट हेरेर बीमा गराउँदा उपयुक्त मानिन्छ। कम्पनीहरुले बर्सेनि कुन बीमालेखमा कति बोनस दिइरहेको त्यो बुझेर बीमा गराउन उचित हुनेछ।
यसका साथै जीवन बीमा कम्पनीहरुको मेरुदण्डका रुपमा रहेका अभिकर्ताहरुसमक्ष पनि हामीले बीमा गराउन सक्नेछौँ। तर, अभिकर्ताहरुसँग बीमा गराउँदा सबै कुरा बुझेरमात्रै गराउनुपर्ने हुन्छ। अभिकर्ताहरुको सल्लाह बमोजिम आफुले खरिद गर्न सक्ने पोलिसी छानेर बीमा गराउनु उचित मानिन्छ। साथै, बीमा कम्पनीहरुको वेबसाइटमा गएर पनि त्यहाँ उल्लेखित बीमालेखहरु बुझेर पनि बीमा गराउन सकिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19