काठमाण्डौ। नयाँ स्टक एक्सचेन्ज स्थापना बारे सर्वोच्च अदालत र संसदीय समितिबाट ग्रिनसिग्नल पाएपछि नेपाल धितोपत्र बोर्डले आन्तरिक रुपमा गृहकार्य गरिरहेको छ ।

तर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पाउन तीन ओटा कम्पनीले यसअघि नै धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । यसका लागि ती कम्पनीका सञ्चालकहरुको तिब्र रुपमा लवीईङ भैरहँदा सेयर बजारका सक्रिय लगानीकर्ता हरी बहादुर केसीले  नयाँ स्टक एक्सचेञ्ज पारदर्शि नभएको र यसमा ठूलो रकमको चलखेल भएको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा १४ बुंदे सुझाव पेस गर्दै यस्तो दाबी गरेका हुन् । अर्थतन्त्र संकटमा परेको समयमा नयाँ स्टक एक्सचेन्ज आउनु आँफैमा चुनौतिपूर्ण रहेको र यसमा अपारदर्शि खेल रहेको उनले उजुरीमा उल्लेख गरेका छन् ।

यदि स्टक एक्सचेञ्ज ल्याउने नै ल्याउने हो भने बोलकबोल जस्ता उत्तम विधि छोडेर एकलौटि ढंगबाट नयाँ स्टक एक्सचेन्ज ल्याउनु खोज्नु भनेको पुरानो स्टक  एक्सचेञ्जलाई सिध्याउनु रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘यो  भनेको खेलमा सिधै रेफ्रिले गोलहाने जस्तो मात्रै हो ।’

लिखित उजुरीमा उनले आफ्ना सुझावहरु कसैको उक्साहटमा नभएर आफ्नो भोगाइ र ब्रम्हले देखेको आधारमा उल्लेख गरेको  पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘एक सच्चा नागरिकको हैसियतले नेपाली पूँजीबजार क्षेत्रको सुधार होस र आफ्नोतर्फबाट पनि केही योगदान होस भन्ने चाहना हो । यसबाट कसैलाई चोट पर्न गएमा क्षमा चाहन्छु ।’

उनले बोधार्थमार्फत् पत्राचार गरेका अन्य निकायहरुलाई पनि आफ्ना सुझावहरुलाई गम्भिरता पुर्वक लिएर काम गर्न भनेका छन् । उनले प्रधानमन्त्री कार्यालयलगायत १७ वटा संस्थालाई बोधार्थ गरेका छन् ।