काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का वेटिङ प्रेसिडेन्ट सुनिल केसीले नेपालको बैंकिङ सेक्टरका लागि सुनौला दिन आउन लागेको बताएका छन् । 

उनले हाल बैंकिङ क्षेत्र केही सकसमा देखिए पनि निकट भविष्यमै सुनौला दिनहरु आउने दाबी गरेका हुन् । 

‘अहिले हामी अप्ठ्यारो अवस्थामा भए पनि नेपालको बैंकिङका लागि सुनौला दिनहरु आउँदैछन् । अवसरका धेरै ढोकाहरु खुल्दैछन् ।’ एनसीसी र कुमारी बैंक मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ समारोहलाई आइतबार सम्बोधन गर्दै उनले भने–‘नेपालमा ठूला–ठूला पूर्वाधारको विकास हुन बाँकी नै छ । त्यस्ता ठूला अवसरहरुमा अब बलियो बनेका बैंकहरुले नै लगानी गर्ने अवसर पाउनेछन् । सोहीअनुसार लगानीकर्ताले पनि आकर्षक रिटर्न पाउने दिन आउनेछ।’ 

उनले मर्जरपछि बलियो बनेका बैंकहरुको भविष्य झनै सुनौलो देखिएको दाबी समेत गरे । 

कार्यक्रममा नेपालको बैंकिङ इतिहासमै सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गराएकोमा एनसीसी र कुमारी बैंकको सञ्चालक समिति, मर्जर कमिटी र व्यवस्थापनप्रति उनले आभार प्रकट गरेका थिए । 

यी दुई बैंकले मर्जरका लागि एमओयू गरेको ६५ कार्यदिनमै एकीकृत कारोबार गरी रेकर्ड बनाएका हुन् । 

केसी एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।