काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुले नेपाल राष्ट्रबैंकले स्प्रेडको गणनामा गरेको नयाँ व्यवस्थाका कारण बैंकहरुको नाफा २४ अर्ब रुपैयाँले घट्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

उनीहरुले खूद नाफामै २४ अर्ब रुपैयाँको गिरावट आउने र त्यसमध्ये २० अर्ब भन्दा बढी नाफा वाणिज्य बैंकहरुको मात्र घट्ने भन्दै यो व्यवस्थामा पुनरविचार नगरिए यसको नकारात्मक प्रभावले सेयर बजार पनि चौपट हुने निश्कर्ष निकालेका छन् । 

बुधबार बसेको नेपाल बैंकर्स संघ(एनबिए)को बैठकमा सहभागी अधिकांश बैंकरहरुको यस्तो धारणा रहेको थियो । 

‘राष्ट्रबैंकले व्यवसायी र व्यापारीको प्रभाव र दवाबमा परेर बैंकिङ उद्योग नै चौपट बनाउने गरी यस्तो निर्देशन जारी गर्यो भन्ने धेरैको बुझाई देखियो ।’ बैठकमा सहभागी एक बैंकरले भने–‘ बैंकरहरुको नाफामै २४ अर्बको पहिरो गएपछि यसले लाभांश क्षमता घटाउने र कम लाभांश आउने बित्तिकै त्यसको सोझो असर सेयर बजारमा पर्ने अधिकांश विश्लेषण देखियो ।’ 

केन्द्रीय बैंकले कुनै पोलिसीमै उल्लेख नगरेको स्प्रेडको गणना विधिलाई हठात निर्देशनको रुपमा ल्याएर समग्र बैंकिङ उद्योगलाई संकटमा धकेल्ने काम गरेको समेत बैंकरहरुको भनाई छ । 

‘दुर्गममा पनि बैंकलाई जा भन्ने, खर्च बढाउने, सेवासुविधा कटौति गर्ने, बैंकको नाफा समाप्तै हुने खेल खेलियो ।’ अर्का एक बैंकरले भने–‘कर्मचारीको सामाजिक सुरक्षाका नाममा समेत बैंकहरुको करोडौं खर्च भएको छ । ग्राचुएटी दिनुपर्छ स्टाफलाई । कस्ट पनि बढिरहेको छ, नाफा घटिरहेको अवस्थामा छ । तर, दक्षिण एशियाली देशहरुमा हुँदै नभएको स्प्रेडको नयाँ गणनाविधि ल्याइदिएर हामीलाई समस्यामा पार्ने काम गरियो ।’

बैंकरहरुले धेरै किसिमको अनुपातबाट टाइट गर्दै लगिएको र राष्ट्रबैंकको नियत नै खराब हो कि भन्ने शंका समेत व्यक्त गरेका थिए । ‘यस्तै हो भने त अब बैंकमा किन लगानी गर्नु ?’ बैंकका एक संचालकको भनाई उद्धृत गर्दै बैठकमा एक बैंकरले भनेका थिए–‘बैंक छाडेर रेष्टुरेन्ट खोले भयो अब । अन्य कुनै व्यापारको क्षेत्र रोजे हुने भो ।’

राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंकास्योरेन्समा पूर्ण रोक लगाएर समेत गल्ती गरेको बैंकरहरुको निश्कर्ष छ । ‘बिमा चेतनाका लागि समेत बैंकास्योरेन्स भइरहेको थियो । यसलाई अनर्थ रुपमा बुझेर राष्ट्रबैंकले पूर्ण रुपमै रोक लगाउने काम गर्यो, यो पनि नबुझी आयो भन्ने देखियो ।’–बैठकका सहभागी भने ।

काउण्टर साइक्लिकल बफर लागू गर्ने नाममा बैंकहरुको १५० अर्बको लोनको ग्रोथ रोकिने अवस्था सिर्जना भएको र यसले सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यमै गम्भीर आघात पर्नसक्ने बैंकरहरुको विश्लेषण छ । ‘बफरबाट क्यापिटल एडेक्वेसीमा २ प्रतिशत थपिएपछि कसरी पूरा होला ग्रोथ टार्गेट भन्नेमा धेरै साथीहरु चिन्तित देखिए ।’ राष्ट्रबैंकलाई यो विषयमा समेत पुनरविचारका लागि अनुरोध गर्ने निर्णय भयो।’

बैठकका सहभागीहरु मुख्य रुपमा स्प्रेडको गणना विधिमै केन्द्रीत भएका थिए । सहभागीहरुले स्प्रेडको नयाँ गणना विधि कार्यान्वयनमा आएमा नवीलजस्तो बैंकको नाफा २ अर्ब रुपैयाँसम्मले घट्ने अवस्था आएको समेत विश्लेषण गरेका थिए ।