काठमाण्डौ । भारतमा कोरोना भाइरसबाट ५७३४ व्यक्तिको संक्रमित भइसकेका छन् । १६६ व्यक्तिको मृत्यु भइसकेको छ । तर, के तपाईलाई थाहा छ भारतमा कोरोना भाइरसको मामला तथा मृतकको संख्या ठ्याक्कै उसैगरी बढिरहेको छ, जस्तो इटलीमा थियो । अन्तर केवल समयको मात्र छ । 

आजतकका अनुसार इटलीमा गत महिना अर्थात मार्चमा जब कोरोना संक्रमितको घटना र मृतकको संख्या बढ्यो, ठ्याक्कै त्यही शैलीमा भारतमा समेत घटनाक्रम विकसित भइरहेको छ । इटलीमा महिना मार्चको थियो, भारतमा अप्रीलमा यस्तो भइरहेको छ । 

विश्वभरको कोरोना भाइरसको आँकडा जाँच गर्ने वेबसाइट वल्र्डमिटरका अनुसार भारतमा १ अप्रीलसम्म १९९८ संक्रमित थिए । त्यसबेलासम्म ५८ जनाको मात्र कोरोनाबाट मृत्यु भएको थियो । जबकि १ मार्चबाट इटलीको ग्राफ हेर्ने हो भने थाहा हुन्छ कि त्यहाँ पनि सो बेलासम्म १५७७ संक्रमित फेला परेका थिए भने सोबेलासम्म ४१ संक्रमितको मात्र मृत्यु भएको थियो । 

अप्रील ७ सम्म भारतमा कोरोना संक्रमितको संख्या बढेर ५९१६ पुगेको थियो । सो बेलासम्म १६० व्यक्तिको मृत्यु भएको भइसकेको थियो । ठीक यस्तै तरिकाले मार्च ७ मा इटलीमा कोरोना भाइरसका ५८८३ संक्रमित फेला परेका थिए । सो बेलासम्म इटलीमा २३३ व्यक्तिको मृत्यु भइसकेको थियो । 

इटली र भारतमा प्रत्येक दिन यो शैलीबाट हिसाब गर्दा आउने आँकडा र त्यसको प्रवृतिबीच खासै ठूलो अन्तर छैन । इटलीमा १ मार्चमा ५७३ संक्रमित भेटिएका थिए भने अप्रील १ मा भारतमा ६०१ व्यक्ति संक्रमित भएका थिए । 

यी दुई देशमा मार्च र अप्रीलमा संक्रमण फैलावटको तीव्रता उस्तै देखिन्छ । 

निको हुनेको अवस्था पनि हेरौं । इटलीमा मार्च १ मा कोरोना भाइरसबाट संक्रमितमध्ये ३३ व्यक्ति निको भएका थिए । भारतमा १ अप्रीलसम्म २५ संक्रमित निको भइसकेका थिए । इटलीमा ७ मार्चमा निको हुने संक्रमितको संख्या ६६ पुगिसकेको थियो भने भारतमा ७ अप्रीलमा निको हुनेको संख्या ९३ रहेको छ । 

तर, प्रश्न उठ्ने गरेको छ कि भारतमा कोरोना संक्रमितहरु किन कम छन् ? विज्ञहरु यसको तीनवटा कारण बताउँछन्: पहिलो, यहाँ कोरोनाको परीक्षण निकै कम मात्र भइरहेको छ । दोश्रो, यहाँ लकडाउन समयमै लागू भयो र भाइरस फैलन पाएन । तेश्रो, भारतीयहरुले लगाएका बीसीजीको खोप । 

भारतको जनसंख्या करिब १३० करोड रहेको छ । तर, त्यहाँ जुन हिसाबले जाँच भइरहेको छ, त्यो पर्याप्त छैन । भारतमा ६ अप्रीलसम्म ८५ हजारजनाको मात्र स्वाब परीक्षण भएको थियो । अर्थात, भारतमा अहिले प्रत्येक १ लाखमध्ये ६.५ वटा टेस्ट मात्र भइरहेको छ । जाँच कम भएका कारण कोरोना संक्रमितहरुको संख्या यकिन गर्न कठीन भइरहेको समाचारमा उल्लेख छ । 

डब्ल्यूएचओले भारतमा सही समयमा लकडाउन भएका कारण पनि भाइरस फैलावटमा नियन्त्रण कायम भएको दाबी गरेको छ । यहीकारण समेत भारत भाइरस संक्रमणको दोश्रो र तेश्रो चरणको बीचमा मात्रै छ । भारतमा कोरोना भाइरसको तीव्रता चीन, अमेरिकी र यूरोपियन मुलुकहरुको दाँजोमा कम छ । 

भारतमा कोरोना भाइरसको संक्रमण विगत एक महिनादेखि दोश्रो स्टेजमै छ । तेश्रो चरणमा पुगेको छैन । तेश्रो चरणलाई कम्युनिटी टान्समिसन फेज भनिन्छ । जबकि अमेरिकामा १० दिनमै कोरोना भाइरसको केस १००० बाट २० हजार पुगेको थियो । 

विज्ञहरुका अनुसार भारतसहित जुन जुन देशमा लामो समयदेखि बीसीजीको खोप लगाइने गरिएको छ, त्यहाँ कोरोना भाइरसको खतरा निकै कम छ ।

यो कुरालाई इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले समेत स्वीकार गरिसकेको छ । 

भारतमा विगत ७२ वर्षदेखि मानिसलाई बीसीजीको खोप लगाउने गरिएको छ । अमेरिका र इटलीजस्ता देशमा बीसीजीको खोप लगाउने कुनै पोलिसी छैन । यसकारण ती देशमा कोरोना संक्रमितको संख्या समेत धेरै देखिइरहेको छ । यस्तै, मृत्युको संख्या पनि बढ्दो छ । बीसीजी टिबी तथा श्वाससँग सम्बन्धित रोगलाई रोक्ने विशेष खालको खोप हो । बीसीजीलाई जन्मेदेखि ६ महिनाभित्र खोपको रुपमा लगाइन्छ । 

मेडिकल साइन्सको नजरमा बीसीजीको खोपले ब्याक्टेरियासँग लड्नका लागि मानिसको शरीरलाई रोग प्रतिरोधात्मक क्षमता दिन्छ । यसबाट शरीरलाई इम्युनिटी प्राप्त हून्छ, जसका कारण शरीरले जिवाणूहरुको हमला सहनसक्छ । तर, कोरोना एक भाइरस हो, न कि ब्याक्टेरिया ।