काठमाण्डौ । लघुवित्त संघ नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले नेपाल राष्ट्र बैंकले सहयोग गरे लघुवित्तहरुले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने बताएका छन्। 

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा अध्यक्ष पोखरेलले लघुवित्तको व्यवस्थापनमा राष्ट्र बैंकले सहयोग गर्ने हो भने गुणस्तरीय सेवा दिन सक्ने बताएका हुन्। ‘हामी राष्ट्र बैंकको सहयोग चाहन्छौँ’, उनले भने।

अध्यक्ष पोखरेलले बैंक पुग्न नसकेको स्थानमा लघुवित्त पुगेर सेवा प्रवाह गरिरहेको बताए। हाल ६५ वटा लघुवित्तका ४ हजार ९०० शाखामार्फत दूरदराजका मानिसहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए। 

लघुवित्तले कृषि, पर्यटन, जलविद्युत क्षेत्रको विकासमा सहयोग पुर्याइरहेको पोखरेलको भनाइ थियो। उनका अनुसार विभिन्न क्षेत्रमा लघुवित्तहरुबाट ४ खर्ब लगानी भइसकेको छ। 

मर्जरको कुरामा राष्ट्र बैंकले ल्याएको नीति कार्यान्वयन गर्न पनि पोखरेलले आग्रह गरे।