काठमाण्डौ । विश्व सेयर बजारमा वारेन बफेटलाई नचिन्ने सायदै कोही होलान्। उनी यति चर्चित लगानीकर्ता हुन् कि राकेश झुनझुनवालालाई भारतको वारेन बफेट उपमा दिइएको थियो। बफेट ९२ वर्षका भए। उनी बर्कशायर ह्याथवेका अध्यक्ष हुन्। 

वारेन बफेट हाल विश्वको पाँचौँ धनी व्यक्ति हुन्। उनीसँग ११७.८ अर्ब डलरको सम्पत्ति छ। वारेन बफेटको लगानी टिप्स धेरै प्रसिद्ध छन्। विश्व सेयर बजारमा थुप्रै लगानीकर्ताले उनका टिप्स फलो गर्छन्। 

तलबबाट बचाउनुहोस् यति पैसा 

वारेन बफेट भन्छन्, ‘यदि तपाइँको मासिक आम्दानी १० हजार रुपैयाँ छ भने तपाइँले २ हजार रुपैयाँ बचत गर्नुपर्छ। यो २ हजार रुपैयाँ तपाइँलाई आपतकालीन अवस्थामा उपयोगी हुन सक्छ। ६ महिनाको घरायसी खर्चबराबरको आपतकालीन कोष कायम गर्नुपर्ने विज्ञहरु पनि बताउँछन्।’

जो लगानी गर्दैनन्, उनीहरुले ठूलो गल्ती गरिरहेका हुन्छन्

वारेन बफेट लगानी नगर्ने मानिसहरुले आफ्नो जीवनमा ठूलो गल्ती गरिरहेको बताउँछन्। समयसँगै हरेक वस्तुको मूल्य बढिरहेको उनीको भनाइ छ । ‘लगानीले मात्र बढ्दो महँगी र बढ्दो खर्च व्यवस्थापन गर्न सक्छ’, बफेटले भनेका छन्, ‘त्यसैले सानैदेखि लगानी सुरु गर्नुपर्छ । मानिसले आफ्नो पहिलो तलबबाट केही पैसा लगानी गर्न सुरु गर्नुपर्छ।’

जुन कुराको ज्ञान छैन, त्यसमा लगानी नगर्नुहोस्

वारेन बफेट नबुझेको लगानी विकल्पमा पैसा कहिल्यै लगानी नगर्न सुझाव दिन्छन्। ‘महत्वपूर्ण कुरा भनेको तपाइँलाई थाहा हुनुपर्छ। तपाइँलाई थाहा छैन भने मलाई किन थाहा छैन भन्ने कुरा बुझ्ने प्रयास गर्नुपर्छ।’ 

आफूले लिन सक्ने जोखिममात्र उठाउनुहोस् 

वारेन बफेट मानिसले आफूले उठाउन सक्ने जोखिममात्रै लिनुपर्ने सुझाव दिन्छन्। ‘खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराइ नाप्ने प्रयास गरेमा डुब्न सकिन्छ। यसका लागि एउटा हातले किनारलाई बलियो गरी समातेर एक खुट्टामा आफ्नो सन्तुलन र अर्को खुट्टाले नदीको आँकलन गर्नु जरुरी छ। यसरी खोलाको गहिराइ मापन गरेमा डुब्नबाट बच्न सकिन्छ’, बफेटले भनेका छन्।

आफैँले अनुसन्धान गर्नुहोस् 

वारेन बफेट निहीत स्वार्थमा लागेका मानिसको अनुमान वा भविष्यवाणीमा कहिल्यै विश्वास नगर्न सुझाव दिन्छन्। ‘लगानीको मामिलामा विशेषज्ञ वा एजेन्टहरुको आफ्नै स्वार्थ हुन्छ’, उनले भनेका छन्, ‘त्यसैले लगानी गर्नुअघि सधैँ आफैँ अनुसन्धान गर्नुहोस्। कम्पनीको कार्यसम्पादन वा नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु जोखिमपूर्ण हुन सक्छ।’ 

सबै लोभी हुँदा डराउनु र सबै डराउँदा लोभी हुनु 

वारेन बफेट भन्छन्, ‘जब सबै कुरा राम्रो देखिन्छ, शंकालु हुनुहोस्। अरु लोभी हुँदा डराउनु र अरु डराउँदा लोभी हुनुहोस्।’

अवसरको खोजी गर्नुहोस् 

वारेन बफेट लगानीकर्ता सधैँ अवसरको खोजीमा हुनुपर्ने बताउने गर्छन्। ‘जब अवसर फेला पर्छ तब त्यसलाई गुमाउनुहुँदैन। यस्ता अवसरको फाइदा उठाउनेहरु सधैँ सफल हुन्छन्’, उनले भनेका छन्।

सक्स होस् वा स्टक्स, क्वालिटीमा ध्यान दिनुहोस् 

वारेन बुफे सक्स (मोजा) होस् वा स्टक्स (सेयरहरु) गुणस्तरमात्र किन्नुपर्ने सुझाव दिन्छन्। ‘त्यो पनि सस्तोमा किन्नुहोस्’, उनले भनेका छन्, ‘आधारभूत अवस्था राम्रो भएका कम्पनीको मात्र सेयर किन्नुर्छ। अझ त्यस्ता सेयर निकै तल आएको बेला किन्नुपर्छ।  बजार घटेको बेला किन्नका लागि उपयुक्त समय हुन्छ।’ 

सबैभन्दा राम्रो सम्पत्ति तपाइँ आफैँ हो

वारेन बुफेट मानिसको सबैभन्दा ठूलो सम्पत्ति स्वयं आफैँ रहेको बताउँछन्। ‘त्यसकारण तपाइँको उत्तम लगानी तपाइँ आफैँ नै हो’, उनले भने, ‘त्यसलाई कसैसँग तुलना गर्न सकिँदैन।’

धेरै पढ्नुहोस् र सोच्नुहोस् 

बफेट आफ्नो दिनको ८० प्रतिशतभन्दा बढी समय पढ्न र सोचविचर गर्न बिताउने गरेको बताउँछन्। ‘लगानीका बारेमा सोच्ने सबैभन्दा राम्रो तरिका भनेको अरु कोही नभएको कोठामा बसेर सोच्नु नै हो’, उनले भने, ‘यदि यसले काम गरेन भने अरु केही हुनेवाला छैन।’ –एजेन्सीको सहयोगमा