– रेखा चन्द

काठमाण्डौ । अहिले वित्तीय क्षेत्रमा विभिन्न खालका समस्या देखा परेका छन्। कोभिडकालमा भएको कर्जा प्रवाह र सो कर्जा प्रयोजनभन्दा पनि अन्यन्त्र क्षेत्रमा लगानी हुँदा अहिले कर्जा असुलीमा व्यापक समस्यादेखा परेसँगै वित्तीय क्षेत्र नै जोखिम उन्मुखतर्फ गइरहेको संकेत देखिएको हो।

सहकारी संस्था, लघुवित्त वित्तीय संस्था हुँदै वाणिज्य बैंकसम्म जोखिम निम्तिएको संकेत देखिएको छ। कोभिड–१९ तथा रुस र युक्रेन युद्धपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आर्थिक चक्र बिग्रिएको अवस्था छ। त्यसकारण नेपाली अर्थतन्त्र पनि त्यति सुखद् छैन। आयात निरन्तर बढिरहँदा ठूलो रकम बाहिरिने क्रम अझै रोकिएको छैन। त्यसकारण पनि मुलुकको अर्थतन्त्रमा सुधार आउन सकेको छैन।

यसैबीचमा बैंकिङ प्रणालीमा देखिएको तरलताको समस्या, ब्याजदर उच्च अंकमा पुग्दा व्यापार–व्यवसाय खुम्चिन पुगेको छ। अर्थात् चलिरहेका उद्योगधन्दा पनि विविध समस्याका कारण बन्द भएका छन्। अर्कोतर्फ बैंकहरुको ब्याजदर उच्च भएको अवस्थामा प्रणालीमा कर्जाको माग ठप्प हुँदा पनि वित्तीय जोखिम बढ्ने देखिएको छ। 

यस्तै प्रवाह भएका कर्जाहरु उत्पादन क्षेत्रभन्दा पनि अनुत्पादक क्षेत्रमा गएपछि अहिले बैंक तथा वित्तीय संस्थाहरु ऋण असुली गर्न सकिरहेका छैनन्। जसले गर्दा बैंकहरुको खराब कर्जा दिनप्रतिदिन बढ्दो छ। दोस्रो त्रैमासको वित्तीय विवरणले नै बैंक तथा वित्तीयहरुका मुख्य वित्तीय सूचकहरु ओरालो लागेको देखाएको छ।

त्यसैगरी ऋणीहरु तथा उद्योगी–व्यवसायीहरुले कर्जा तिर्न नसक्ने तथा मिनाहा गरिनुपर्ने भन्दै गरिरहेकोे आन्दोलनले पनि वित्तीय जोखिम झनै बढ्ने देखिन्छ।

पछिल्लो समय लघुवित्तका ऋणीहरुले कर्जा नतिर्ने भन्दै आन्दोलन जारी राखेपछि यसले समग्र वित्तीय प्रणालीमा थप जोखिम बढाउन सक्ने सरोकारवालाहरु बताउँछन्। तथापि यसलाई समाधानतफ लैजादाँ वित्तीय क्षेत्र जोखिमबाट बच्ने उनीहरुको भनाइ छ। अर्कोतर्फ राजनीतिक अस्थिरताका कारण पनि यस्तो जोखिम बढ्न सक्ने देखिन्छ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्दबहादुर क्षेत्री अहिले देखिएको समस्याले वित्तीय क्षेत्र जोखिमउन्मुख रहेको बताउँछन्। ‘जोखिमउन्मुख किन हो भने कोरोनाको बेला दिइएको कर्जा तिर्न अहिलेसम्म आनाकानी भइरहेको अवस्था छ। जसले गर्दा जोखिम थप बढ्न सक्छ’, उनले भने, ‘६ महिनाको अन्तरालमा खराब कर्जालाई मात्रै हेर्ने हो भने दोब्बर भएको अवस्था छ। अर्को कुरा वाणिज्य बैंकहरुले विदेशी मुद्रा ल्याएर लगानी गरेका छन्। ती बैंकहरु लगानी गरेको रकम फिर्ता दिनुपर्यो भन्ने अवस्था आउन थाल्यो भने त्यसले समस्या ल्यान सक्ने देखिन्छ।’

राजनीतिक अस्थिरताले पनि दुःख दिन थालेकाले केही समय यो अन्यौल रहने पूर्वगभर्नर क्षेत्रीको भनाइ छ। ‘लगानीकर्ता दिल खोलेर लगानी गर्न सक्ने ठाउँ हुँदैन’, उनले भने ‘डिपोजिट हुँदै गएपछि ब्याजदर घट्ने सक्ला।’

अर्थविद् डिल्लीराज खनाल अहिलेको अवस्थामा वित्तीय क्षेत्र केही जोखिमतिर गएको जस्तो देखिएको बताउँछन्। ‘कोभिडपछि विभिन्न नीतिगत कुरा र त्यसभित्र पनि नियमनमा अलि समस्या देखियो, लोन लिने र त्यसको गलत ठाउँमा प्रयोग गर्ने बाटो समस्याग्रस्त भयो’, उनले भने, ‘बैंकिङ क्षेत्रमा पनि तुलनात्मक रुपमा खराब कर्जा बढेको देखियो, तथापि अहिले नै पूरै बिग्रिहालेको स्थिति होइन तर वित्तीय स्थायित्वमा चुनौती थपिने हो कि भन्ने खतरा भने देखिएको छ।’

अर्थविद् खनालले लघुवित्तहरुको नियमन कमजोर हुँदा गलत ठाउँमा रकम लगानी भएको बताए। ‘विशेषगरी छिटो लाभ दिने प्रवृति देखियो, सहकारीहरुमा देखिएको समस्या अहिले लघुवित्तमा आएका ठूला बैंकहरुमा केही जोखिम बढेको छ’, उनले भने, ‘त्यसको मतलब पूरै स्थायित्व खलबलिएको भन्ने होइन तर त्यतैतर्फ उन्मुख छ, अब केही सजग हुनुपर्छ।’

अर्का अर्थशास्त्री मुक्तिबहादुर क्षेत्री पनि अहिले देखिएका जति पनि परिदृश्यहरुले वित्तीय क्षेत्र जोखिमउन्मुख रहेको बताउँछन्। ‘कोभिड, रसिया–युक्र्रेन युद्धले अहिले हाम्रो अर्थतन्त्रलाई मात्रै नभएर विश्व अर्थतन्त्रलाई असर गरेको छ’ उनले भने, ‘आयात बढ्दा लोन जति त्यतै गयो, यता उत्पादन तथा अत्यावश्यक क्षेत्रमा कर्जाको अभाव देखियो, यस्तो बेलामा वित्त क्षेत्रको जोखिमलाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ।’

क्षेत्रीका अनुसार सरकारले राजनीतिक अजेन्डालाई मात्रै प्राथमिकतामा राख्दा सन्तुलन नमिलेका कारण पनि वित्तीय क्षेत्र जोखिमतर्फ उन्मुख रहेको हो। ‘यदि यस्ता समस्यालाई सरकारले समाधान गर्ने हो भने अब सार्वजनिक छवि स्वच्छ भएको, विदेशी सम्बन्ध भएको, काम गर्न सक्ने र ज्ञान पनि भएको अर्थमन्त्री नियुक्त हुनुपर्छ’, उनले भने।