काठमाण्डौ । सिभिल बैंक लिमीटेडका अध्यक्ष इच्छाराज तामाङले फस्ट जेनेरेसनको वाणिज्य बैंकसँग आफूहरु मर्जरमा जाने तयारी भइरहेको खुलासा गरेका छन् । 

उनले कुनै बैंक विशेषको नाम नलिए पनि पहिलो जेनेरेसनको राम्रो र बलियो बैंकसँग मर्जरका लागि आफूहरु उत्साहित रहेको उल्लेख गर्दै भने–‘कुरा निकै अगाडि बढेको छ । केही दिनमै फाइनल होला ।’

उनले पहिलो जेनेरेसनसँगै सेकेण्ड जेनेरेसन र सिभिल सोसरहको जेनेरेसनका बैंकहरुसँग समेत कुराकानी भइरहेको समेत थपे ।

‘हामी हाम्रोभन्दा पनि राम्रो गुडविल भएको बैंकसँग मर्ज गर्न तयार छौ ।’ उनले भने–‘त्यस्तो बैंकसँग हामी मर्ज हुन्छौ, जोसँग मिसिएपछि हामीले दिएको भन्दा राम्रो आउटपुट आउनुपर्छ । मर्ज नगर्नु, गरेपछि राम्रो परिणाम निस्किने बैंकसँग गर्न आवश्यक छ । यसले सबैलाई फाइदा नै गर्छ ।’ 

उनले सबै खालका वाणिज्य बैंक गरी ८–१० वटासँग मर्जरको छलफल भइरहेको उल्लेख गर्दै निकट भविष्यमै कुनै एक बैंकसँग मर्जरको विषय फाइनल हुने दाबी समेत गरे । ‘म फेरि पनि भन्छु, हामीभन्दा बेटर बैंकसँग हामी मर्जर गर्छौ ।’ उनले थपे–‘यसको अर्थ हामी नराम्रो भनेको होइन । राम्रो गुड्विल भएको बैंकसँग जानलाई कुनै पनि कुरामा कम्प्रोमाइज हुन्न ।’ 

उनले बजारमा आएका मर्जरका हल्लामा केही सत्यता रहेको हुनसक्ने उल्लेख गर्दै मर्जरको क्रममा कसको कति सेयर स्वाप रेसियो भन्ने विषय गौण रहेको, बरु एउटा बैंक र अर्को बैंकको वर्किङ कल्चरको समायोजनको विषय चाहि जटिल हुने आफूले देखेको दाबी समेत गरे।

सिभिल बैंकले आइएसओ सर्टिफिकेट पाएको विषय घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो सर्टिफिकेटले मर्जरको सम्झौता गर्दा बैंकको भ्यालूएड बढेको समेत दाबी गरे । 

‘मर्जरको बेला यो सर्टिफिकेट पाएपछि हाम्रो भ्यालूएड बढ्ने भो । लगानीकर्ता र सेयरहोल्डरका लागि खुशीको अवसर हो ।’ उनले भने–‘यो कारणले हामी नेगोसिएसनमा जाँदा हाम्रो प्वाइन्ट एक कदम अगाडि हुनसक्छ ।’