काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको समुद्घाटन गरेको छ । 

एनआइबिएल मास्टरकार्डको समुद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मास्टरकाडसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउँदै आफ्ना सञ्जाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्ने विश्वास दिलाए ।

कार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका भाइस प्रेजिडेन्ट विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रसंशा गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकसँग भएको मास्टरकार्डको सहकार्यले थप भूमिका खेल्नेमा आशावादी रहेको बताए । 

बैंकले आन्तरिक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको हो । स्थानीय कार्ड नेपाललगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ । 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मास्टरकार्डको सहकार्यमा एनआइबिएल मास्टरकार्डको समुद्घाटनसंगै तीन महिनासम्म आफ्ना ग्राहकलाई बिनाकुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टरकार्डबाट कारोवार गरेबापत नगदफिर्ता भुक्तानी पनि उपलब्ध गराउने  योजना बैंकले ल्याएको छ  । यसका लागि भने केही शर्तहरु लागू हुनेछ ।  

नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा आफ्ना ग्राहकहरुलाई एनआइबिएल मास्टरकार्डले  आर्थिक कारोवार गर्न सहयोग पुर्याउनेमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले विश्वास लिएको छ ।  

७७ वटा शाखापुगेको बैंकको नौ लाखभन्दा बढी उपभोक्ता रहेका छन् । अहिलेसम्म २६५७ वटा पस मेसिन जडान भइसकेका छन् भने १०५ वटा एटिएम पुगेको जानकारी दिइएको छ ।