काठमाण्डौ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले पूँजी वृद्धिको उद्देश्यले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको निर्णय गरेको छ । 

पछिल्लो समय ३२ जिल्लाका ४० शाखाबाट कारोबार गरिरहेको यो कम्पनी शाखा बिस्तारमा समेत आक्रामक बनिरहेको छ । शाखा बिस्तारसँगै व्यवसाय समेत वृद्धि हुने भएकोले सोअनुसारको पूँजी जुटाउन हकप्रद सेयर निश्कासनमा जाने निर्णय गरेको हो । 

यो कम्पनीलाई नेपाल राष्ट्रबैंकले राष्ट्रियस्तरमा लघुवित्त कार्यक्रम बिस्तारको अनुमति दिइसकेको छ ।  

कम्पनीको पुस २८ गते शनिवार बसेको ११४ औं बोर्ड बैठकले सेवा र शाखा बिस्तारसँगै आवश्यक पूँजी वृद्धिका लागि हकप्रदको बाटो रोज्ने निर्णय गरेको हो ।

यो कम्पनीले राष्ट्रिय स्तरको माइक्रोफाइनान्स बन्नका लागि शाखा बिस्तारको क्रमलाई समेत तीव्रता दिने निर्णय गरेको छ ।

कम्पनीले सतप्रतिशत हकप्रद निश्कासनको निर्णय गर्दै त्यसलाई पारित गर्न विशेष साधारणसभा बोलाउने निर्णय समेत गरेको छ । 

नेपाल राष्ट्रबैंकले पुस १३ गते एक निर्देशन जारी गर्दै राष्टिय स्तरको लघुवित्त कम्पनी बन्न चुक्तापूँजी १० करोड हुनुपर्ने व्यवस्था गरेको छ । यो कम्पनीको न्यूनतम पूँजी पुगेकै भए पनि व्यवसाय बिस्तारपछि क्यापिटल एडेक्वेसी रेसियोमा पर्नसक्ने दवाबलाई मध्यनजर गर्दै पूँजी वृद्धि गर्न तातेको हो । 

यसैबीच, कम्पनीका सीइओ प्रमेश आचार्यले कम्पनीले निकट भविष्यमै आधादर्जन बढी शाखा बिस्तार गर्न लागेको जानकारी दिए । शाखासँगै बढ्ने व्यवसाय धान्नका लागि समेत पूँजी वृद्धि गर्नुपर्ने अवस्था रहेको उनको प्रष्टोक्ति छ ।

हाल यो कम्पनीको चुक्तापूँजी १० करोड १० लाख रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद जारीपछि २० करोड माथि पुग्नेछ ।