काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकबीचको जारी मर्जरको म्याद सकिएको छ । 

मर्जरका लागि नेपाल राष्ट्रबैंकबाट लिएको म्याद सकिएसँगै दुवै बैंकले एक महिना म्याद थप्न अनुरोध गर्दै राष्ट्रबैंक गुहारेका छन् ।

जारी मर्जर प्रक्रियाका केही विषयमा तिक्तता बढेसँगै यी दुई बैंकको मर्जर धरापमा परेको छ । एक महिनाअघि नै दुई बैंकबीच मर्जर सकेर एकीकृत कारोबार थाल्ने भनिए पनि तिक्तता र असहमति बढेपछि दुवै बैंकले नियामक नेपाल राष्ट्रबैंकलाई गुहारेका हुन् । 

अब नेपाल राष्ट्रबैंक र सम्बन्धित विभागले प्राइम र ओमबीचको जारी मर्जर र सो क्रममा देखिएका समस्याहरुको अध्ययन गर्नेछ । समस्याको पहिचानसँगै दुवै बैंकलाई राखेर नेपाल राष्ट्रबैंकले जारी मर्जर प्रक्रियालाई सफल बनाउने प्रयासलाई प्राथमिकता दिनेछ । दुई बैंकबीच मिल्नसक्ने कुराहरुमा उसको जोड हुनेछ । 

जारी मर्जर प्रक्रियामा मिल्नै नसक्ने बिषयमा दुई बैंकबीच असहमति नदेखिए मर्जरमा जानैपर्ने दवाब समेत केन्द्रीय बैंकले दिनसक्नेछ । ‘अवस्था हेरेर राष्ट्रबैंकले फोर्स मर्जर समेत गर्नसक्नेछ ।’ प्राइम बैंकका एक संचालकले भने–‘मिल्दा पनि अवस्था असहज हुने देखिए राष्ट्रबैंकले पनि केही नरम भई डिमर्जमा जाने सुझाव दिनसक्छ ।’ 

ओम बैंकस्थित एक उच्च स्रोतका अनुसार अहिलेको अवस्था मर्जर असफल भएको औपचारिक घोषणा मात्र हुन बाँकी हो । ‘प्राइमसँग  कुनै पनि कोणबाट कुरा मिल्ने छाँट देखिन्न ।’ स्रोतले भन्यो–‘औपचारिकताका लागि म्याद थपको निवेदन दिए पनि जारी प्रक्रियाले सकारात्मक दिशा लिनेसंभावना न्यून छ ।’ 

अर्को स्रोतका अनुसार ओम डेभलपमेन्ट बैंकको तर्फबाट आफू निकटका केही व्यक्तिलाई नेपाल राष्ट्रबैंकमा प्राइमसँग जारी मर्जरको विषयलाई टुंग्याउन र डिमर्जका लागि नरम बनिदिन सम्बद्ध विभागका अधिकारीसँग लबिङका लागि आग्रह गरिएको छ । यसको अर्थ पछिल्लो समय ओम डेभलपमेन्ट बैंकका अधिकारी समेत प्राइमको धोकाधडीपूर्ण व्यवहारबाट आजित भइसकेका छन् र उनीहरु पनि अब मर्जर टुटोस् भन्ने नै चाहन्छन् भन्ने हो । 

किन तर्सियो ओम ?
एमओयू गर्ने क्रममा भएको सम्झौता विपरीत प्राइम कमर्सियल बैंकले केही गतिविधि अगाडि बढाएपछि ओम बंैकका संचालक जारी मर्जर प्रक्रियासँग तर्सिएका हुन् । 

सुरुवातमा सम्झौता हुँदा दुवै बैंकले विशेष साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गर्ने र दुवैले सँगै वार्षिक साधारणसभा बोलाएर सेयरधनीलाई सँगै बोनस बाँड्ने सहमति भएको थियो । 

तर, प्राइम बैंकले मर्जर पार्टनर ओमलाई थाहै नदिई विशेष साधारणसभालाई पर पन्छाउँदै वार्षिक साधारणसभाका लागि केन्द्रीय बैंकसँग अनुमति माग्यो र यो विषय पत्रिकामार्फत प्रकाशन भएपछि मात्र ओमका संचालकले थाहा पाए ।

प्राइमले मात्र हतारमा वार्षिक साधारणसभा गर्दा ओमका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुँदैन थियो । यो विषयबाट ओमका संचालक तर्सिए ।

त्यति मात्र होइन, एमओयू गर्दाताकाको सहमति नै तोडेपछि प्राइमसँग ओमका संचालक नकारात्मक भएका हुन् । 

यस्तै, ओम संचालकहरुमा प्राइमकै कुनै स्वार्थले डिडिएमा ढिलाई भइरहेको भन्ने शंकाले समेत घर गर्यो । उनीहरु सशंकित बनेको योे बिषयमा प्राइमले कहिल्यै प्रष्ट पार्ने काम गरेन । 

मर्जर असफल बन्ने अवस्थामा पुग्ने अर्को कारण प्राइम बैंकमा लामो समयदेखि चलेको कर्मचारी आन्दोलन पनि एक बन्यो । ओमसँग मर्जरको डिल हुनुअघिदेखि नै त्यहाँका कर्मचारी आन्दोलित छन् । यो विषयले समेत मर्जरपछिको वित्तीय कारोबार र कर्मचारी पुनरसंरचनामा लफडा हुने ठानेर ओम पछाडि हटेको देखिएको छ । 

प्राइमले ओमलाई गाभ्ने विषयमा भदौ ३ गते सम्झौता भएको थियो । मर्जर सम्झौताको ५ महिना भन्दा बढी समयपछि भाँडिने अवस्था सिर्जना भएको हो ।