काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेड लगानीका लागि जोखिममुक्त कम्पनी रहेको देखिएको छ । 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो बैंकलाई ‘इक्रा एनपी आइआर–ए–माइनसको रेटिङ प्रदान गरेको छ । 

यस्तो रेटिङको अर्थ माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउने बताइएको छ । 

इक्रा नेपालले नेपालका वित्तीय संघसंस्थाहरुमा क्रेडिट रेटिङ सम्बन्धमा समय समयमा विभिन्न अध्ययन अनुसन्धान गर्दै आएको छ ।

इक्राले विशेष गरी माछापुच्छ्रे बैंकले ल्याउन लागेको रु. ३ अर्बको ऋणपत्रलाई टार्गेट गरी यो रेटिङ प्रदान गरेको छ । 

बैंकले साउन पहिलो सातादेखि सो ऋणपत्र बजारमा ल्याउने योजना बनाएको छ । 

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरका साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११९ वटा शाखा, ११२ शाखारहित बैंकिङ इकाई समेत गरी कुल २३१ स्थानबाट ७ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको देशभर १४१ वटा एटीएम संचालनमा छन् ।

बैंकलाई १६ दिनअघि धितोपत्र बोर्डले ऋणपत्र निश्कासनको अनुमति दिइसकेको छ । 

यो बैंकले '१०.२५% माछापुच्छ्रे डिवेञ्चर–२०८३' नामको ऋणपत्र निश्कासन गर्न लागेको हो । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

माछापुच्छ्रे बैंकको ऋणपत्रमा लगानी गर्दा वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाइनेछ । ७ वर्षे अवधिको ऋणपत्रमा दिइने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

प्रति ऋणपत्र अंकित मूल्य रु. १,०००।– दरका ३०,००,००० कित्ताको जम्मा रु. ३,००,००,००,०००(तीन अर्ब रुपैयाँ मात्र) निष्काशित ऋणपत्रमा १८,००,००० (अठार लाख) कित्ता ऋणपत्र परिपत्र विधि (प्राइभेट प्लेसमेन्ट)बाट र १२,००,००० (बाह्र लाख) कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरिने बैंकले जनाएको छ । 

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिनेछ । यस्तै, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा ऋण समेत लिन सकिन्छ ।