काठमाण्डौ । अमेरिकाले समाजिक सञ्जाल फेसबुकलाई हालसम्मै ठूलो जरिवाना तिराउने भएको छ ।
गोपनीयता व्यवस्थापनमा कमजोरी देखाएको भन्दै अमेरिकाले सामाजिक सञ्जाल फेसबुकलाई हालसम्मकै सबैभन्दा ठूलो रकम करिब ५ अर्ब अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको हो ।
अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) का अनुसार फेसबुकले यो जरिवाना तिरेसँगै अब गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण भने रहने छैन।
एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो। जाँचमा 'फेसियल रिकग्निसन' भनिने अनुहार चिनिने प्रविधिलगायतलाई पनि सामेल गरियो।
एफटीसीका अध्यक्ष जो सिमोन्सले भने, 'विश्वभरका अर्बौ प्रयोगकर्तालाई पटक-पटक प्रतिबद्धता जनाएर पनि फेसबुकले उनीहरूको व्यक्तिगत विवरण कसरी साझा गर्ने भनेर नियन्त्रण गर्न सक्छ।'
फेसबुकले उपभोक्ताको छान्न पाउने हकलाई कम गरिदिएको छ। उनले फेसबुकले हाल गरिरहेको गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना लगाइएको बताए।
सन् २०१८ को मार्चमा एफटीसीको उपभोक्ता संरक्षण ब्युरोले फेसबुकमाथि अनुसन्धान थालेको थियो। उक्त अनुसन्धानपश्चात् व्यक्तिगत डेटाहरू एउटा अनलाईन क्वीजमार्फत् जम्मा गरेर क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरिएको पाइएको थियो।
त्यो डेटा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव र यूकेको ब्रेक्जिट जनमतसङ्ग्रहको नतिजा प्रभावित पार्न प्रयोग गरिएको दाबी पनि गरिएको थियो। यद्यपि २ लाख ७० हजार मानिसले मात्र उक्त क्वीजमा सहभागिता जनाएका थिए।
एकजना अधिकारकर्मीले अमेरिकीसहित करिब ५ करोड प्रयोगकर्ताहरूको डेटा उनीहरूलाई थाहा नदिइकन उनीहरूका साथीहरूको सञ्जालबाट जम्मा गरिएको आरोप लगाएका थिए। तर क्याम्ब्रिज एनालिटिका मात्र उपभोक्ताहरूको डेटामा पहुँच पुर्याउने कम्पनी थिएन।
फेसबुकको पूर्वाधार प्रयोग गरेर अन्य धेरै कम्पनीहरूले पनि फाइदा लिएका थिए।
गत अक्टोबरमा क्याम्ब्रिज एनालिटिका डेटा विवादमा फेसबुकको भूमिकालाई लिएर यूकेको डेटा संरक्षणबारे हेर्ने निकायले फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना तिराएको थियो। – बीबीसी नेपाली सेवा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19