काठमाण्डौ । माछापुच्छ्रे बैंकको सर्वाधिक सफल रु. ३ अर्बको ऋणपत्र बाँडफाँड भएको छ । 

भदौ १३ गते शुक्रबारका दिन प्रति इकाई १००० दरका  ३० लाख कित्ता ऋणपत्रहरुको बाँडफाँड भएको हो । 

बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको थियो । अधिकांश बैंकको ऋणपत्र नबिकिरहेको अवस्थामा यो बैंकको ऋणपत्रमा भने लगानीकर्ताले अधिक विश्वास गरेका देखिएको छ । 

बैंकले एक विज्ञप्ति प्रकाशित गरी बैंकलाई विश्वास गरी ऋणपत्र खरीद गर्ने सबै आवेदकलाई धन्यवाद समेत ज्ञापन गरेको छ । 

बैंकको ऋणपत्रले नेपालको पूँजीबजारको विकासमा सकारात्मक भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ । 

बैंकले निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने जानकारी पनि दिएको छ । ऋणपत्रको बिक्रीप्रबन्धक एन.एम.बी क्यापिटल रहेको थियो ।

माछापुच्छ्रे बैंकले हाल सातै प्रदेशमा १३६ वटा शाखा, १२१ वटा शाखारहित बैंकिङ इकाईबाट ७ लाख बढी ग्राहकलाई सेवा दिइरहेको छ । बैंकको देशभर १५८ एटीएमहरु रहेका छन् ।