काठमाण्डौ । माछापुच्छ्रे बैंकले श्वेताश्री फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ । 

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेताश्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रु.७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

श्वेताश्री फाउण्डेशनले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भूकम्पप्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ । ५३ वटा भूकम्प प्रतिरोधात्मक आवाससहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकीकृत नमूना बस्तीको निर्माण गरिरहेको स्वेताश्री फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस् भन्ने उद्देश्यले माछापुच्छ्रे बैंकले रु.७ लाख आर्थिक सहयोग गरेको हो । 

अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएता पनि आर्थिक अभावका कारण सडक, बालबगैंचा, स्वास्थ्यचौकी, रिटेनिङ्ग वाल लगायत अन्य आवश्यक पूर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।