काठमाण्डौ ।  संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ । चिनियाँ करवृद्धिका कारण अगस्ट महिनामा अमेरिकाबाट करिब १० अर्ब डलर बराबरको सामान मात्र आयात भएको छ । चिनियाँ भन्सारका अनुसार संयुक्तराज्य अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करवृद्धिलाई यथावत राखेका कारण गत अगस्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलर बराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएका छन् । संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आवद्ध अर्थशास्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिका कारण सन् २०२१को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् । अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ ।

गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए । सर्वेक्षणमा दुई प्रतिशतले मात्र यसै वर्षदेखि मन्दी आउने बताएका थिए । करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन् २०२० मै शुरु हुने बताएका छन् । अर्थशास्त्रीले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अनुमान गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरुबाट भित्रिने सामानमा करवृद्धि गर्नुभएको छ । उहाँले चीन, युरोपेली मुलुक, मेक्सिको र क्यानाडाबाट आउने सामानमा कर बढाउनुभएको छ । अमेरिकी अधिकारीहरुले आयातमा हुने करवृद्धिले व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका छन् तर अमेरिकी व्यापारिक साझेदार मुलुकहरुले प्रतिशोध स्वरुप अमेरिकी सामानमा पनि करवृद्धि वा आयात नियन्त्रण गरेका छन् ।

विश्वका सर्वाधिक ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीचको व्यापारमा नाटकीयरुपमा कमी आएको छ । राष्ट्रपति ट्रम्पले करिब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि पछिल्लो पटक घोषणा गर्नुभएको १० प्रतिशत करवृद्धिको प्रस्तावलाई आगामी डिसेम्बर १५ सम्मका लागि स्थगन गर्नुभएको छ ।

सर्वेक्षणमा अमेरिका–चीन बीचको व्यापार सम्झौता सफल हुनेमा धेरैजसो अर्थशास्त्रीले आशंका व्यक्त गरेका छन् । करिब पाँच प्रतिशत अर्थशास्त्रीले मात्र व्यापार वार्ता सफल हुने अनुमान गरेका छन् जबकी ६४ प्रतिशतले सम्झौताको नाटक मात्र हुने बताएका छन् । करिब एक तिहाइले दुबै मुलुकबीच कुनै ठोस सहमति नहुने जनाएका छन् । सर्वेक्षणमा कर्पोरेसन र ट्रेड युनियनमा आबद्ध अमेरिकाका करिब २२६ जना अर्थविज्ञका धारणा समेटिएको छ ।

यो सर्वेक्षण जुलाई १४ देखि अगस्ट १ को अवधिमा गरिएको थियो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनःशुरु हुने बताउनुभएको छ । दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ । फ्रान्सको बियारिजमा सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनुभएका राष्ट्रपति ट्रम्पले भन्नुभएको छ–चीनबाट वार्ताका लागि फोन आयो, र उनीहरुको भनाइ वार्ताको टेबलमा बसौं भन्ने छ । त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं ।

राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीका भनाइ निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताउनुभयो 

राष्ट्रपति ट्रम्पले चीनले अमेरिकी सामानको मुल्यवृद्धि गरेपछि अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा करवृद्धिको घोषणा गर्नुभएको थियो । संयुक्तराज्य अमेरिकाले चिनियाँ व्यापार मोडेलमै परिवर्तन ल्याउन र व्यापक सुधार गर्न दबाब दिइरहेको छ । चीनसँग वार्ताका लागि अमेरिकी राष्ट्रपतिले सहमति जनाए पनि विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासकाबीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले सेप्टेम्बर १ देखि नै चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करीब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत कर वृद्धि हुनेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा संवाददातासँग भन्नुभयो, “घोषित कर वृद्धि लागू हुन्छ, यो रोकिँदैन ।”

नयाँ करहरु खाद्य सामग्री, खेलकूदका सामान, संगीत सामग्री र फर्निचर समेतका दैनिक उपभोगका सामानमा कर वृद्धि गरिएको छ। वासिङ्टनस्थित पिटर्सन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिच्यूटका अर्थशास्त्रीहरुले अमेरिकाको पछिल्लो कदमले करीब ११२ अर्ब अमेरिकी डलर बराबरका सामानमा असर पार्नेछ ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गर्नुभएको थियो । अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ। ट्रम्पको घोषणापछि यसै महीनाको शुरुमा बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो ।

सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो । सयौं अमेरिकी कम्पनी र व्यावसायिक समूहहरुले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । उनीहरुको विचारमा कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरीद गर्ने सामान महंगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

चीनसँगको व्यापार घाटा तिब्र रुपमा बढेको भन्दै राष्ट्रपति ट्रम्पले चीनसँग व्यापार युद्ध मार्च २०१८ मा आरम्भ गर्नुभएको थियो । उहाँले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहनु भएको छ ।

चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन । अमेरिकी कूल गार्हस्थ्य उत्पादनमा उपभोग्य वस्तुले ७५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । - रासस/एपी