काठमाण्डौ । वाणिज्य बैंकहरुले मात्र निश्कासन गर्दै आएको ऋणपत्र अब आइसीएफसी फाइनान्सले पनि ल्याउने भएको छ । 

यो कम्पनीले निश्कासन गर्ने भनिएको ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज पाइने भएका कारण सबैको ध्यान तानिएको छ । 

लगानीकर्ताले प्रतिक्षा गरेर बसेका यो कम्पनीको ऋणपत्र धितोपत्र बोर्डले पाइपलाइनमा राखेपछि निश्कासन प्रक्रियाले तीव्रता पाएको देखिएको छ । 

नेपालको इतिहासमै “क” वर्गका वाणिज्य बैंकहरु पश्चात् नेपाल राष्ट्र बैंंकबाट अनुमति प्राप्त गरी डिवेञ्चर निष्कासन गर्ने पहिलो वित्तीय संस्थाको रुपमा आइसीएफसी फाइनान्स लिमिटेड अगाडि आएको छ। 

यो फाइनान्स कम्पनीले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्न लागेको हो । 

यो कम्पनीको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ । 

फाइनान्सले रु. १००० दरका कुल २ लाख कित्ता ऋणपत्र निश्कासन गर्नेछ ।

सात वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १२ प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुने बताइएको छ ।

अहिले बजारमा ऋणपत्र निश्कासन गर्ने वाणिज्य बैंकहरुले वार्षिक अधिकतम १०.२५ प्रतिशतसम्म ब्याज अफर गरेका छन् । 

यसैगरी, धितोपत्र बोर्डले नेपाल एसबीआई बैंकको ऋणपत्रलाई पनि पाइपलाइनमा राखेको छ । 

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट वाणिज्य बैंकहरुलाई ऋणपत्र निश्कासनको अनिवार्य व्यवस्था गरेसँगै यो बैंकले समेत ऋणपत्र निश्कासनको गृहकार्य थालेको हो । 

यो बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको छ । 

दश वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेका लागि वार्षिक १० प्रतिशतको दरले ब्याज अफर गरिएको छ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ । 

यो बैंकले निश्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमीटेड रहेको छ ।