काठमाण्डौ । कालोधनलाई रोक्नका लागि मोदी सरकारले नोटबन्दीपछिकै ठूलो कदम उठाउन लागेका खबर बाहिरिएको छ । त्यहाँको सरकारले अब कालोधनबाट सुन खरीद गर्नेहरुलाई लगाम लगाउनका लागि निकै ठूलो कदम उठाउन लागेको एजेन्सीहरुले जनाएका छन् ।
जानकारहरुलाई उद्धृत गर्दै उल्लेख गरिएअनुसार मोदी सरकारले अब सुनका लागि एम्नेष्टी स्किम ल्याउने तयारी गरिरहेको छ । सुनको यो स्किम लागू भएपछि त्यहाँ रहेका नागरिकले सरकारबाट तोकिएको न्यूनतम सीमाभन्दा बढी सुन राखेको वा भएको खण्डमा त्यसको सूचना समयमै सरकारलाई दिनुपर्ने हुन्छ ।
एमनेस्टी स्किमका लागि एक मस्यौदा समेत तयार भइसकेको र यसलाई त्यहाँको क्याबिनेटमा पेश गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ ।
एमनेस्टी स्कीमअन्तरगत सुनको मूल्य तय गर्नका लागि भ्यालूएसन सेन्टरबाट सर्टिफिकेट लिनुपर्ने हुन्छ । मानिसले बिलबिना आफूसँग रहेको सुनको परिमाणको विषयमा समेत सही जानकारी सरकारलाई दिनुपर्ने हुन्छ र त्यस्तो सुनका लागि तोकिएको कर तिरेपछि त्यसलाई कानूनी सुन बनाउन मिल्ने व्यवस्था हुने बताइएको छ ।
यो स्किम निश्चित अवधिभर रहने र यसको समयसीमा सकिएपछि तोकिएको सीमाभन्दा बढी बिना जानकारी सुन राखिएको पाइएमा निकै ठूलो मात्रामा जरीवाना र कडा कारबाही हुने समाचारमा उल्लेख छ ।
यही स्किम अन्तरगत भारतका विभिन्न मन्दिर तथा ट्रस्टमा थुप्रिएर रहेको सुनलाई समेत उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले विशेष घोषणा समेत हुनसक्ने सूत्रहरुलाई उद्धृत गदै समाचारमा दाबी गरिएको छ ।
नेपालमा के होला प्रभाव ?
भारतको नोटबन्दीका कारण नेपालमा निकै ठूलो प्रभाव परेको थियो । अझै पनि नेपाल सरकारले नोटबन्दीको क्रममा नेपालमा चलनचल्तीमा रहेका करोडौं भारु सटहीको मुद्धा उठाउँदै आएको छ । नेपालमा कागजको खोस्टोमा परिणत भारतीय नोटहरु सटहीको व्यवस्था मिलाउने विषयमा भारत सरकारले अझैसम्म पनि सहयोगी कदम चालेको छैन । जसका कारण भारतीय मुद्रा प्रचलनमा ल्याएर ठूलो भारु सञ्चित गर्नेहरु रातारात निकै ठूलो घाटाको शिकार बन्न पुगेका थिए ।
नेपालको सुन कनेक्सन भारतसँग समेत छ । खुल्ला सीमानाको फाइदा उठाउँदै चीनबाट नेपाल हुँदै सुन भारततर्फ तस्करी हुने गरेको छ । यति मात्र होइन, खुल्ला सीमानाका कारण सस्तो हुँदा भारतबाट सुन तस्करी भई नेपाल समेत आउने गर्छ ।
पछिल्लो समय मोदीले अर्थव्यवस्थामा चालेका कतिपय सुधारवादी कदमलाई नेपालले समेत पछ्याइरहेको छ । कालोधन बाहिर निकाल्ने उपायहरुको विषयमा नेपालमा समेत लामो समयदेखि छलफल हुँदै आएको छ । नेपालमा कालोधनमा विभिन्न कानून र विधेयक बनाएर कडाई गरिँदा यहाँको धन सजिलै भारतसम्म पुग्ने र भारतमा कालोधनविरुद्ध सरकारले कडा कदम चाल्दा त्यो पैसा नेपालमा विभिन्न माध्यम र बाटो हुँदै आउने कुरा पनि नौलो होइन । नेपालको सेयर बजारमा लामो समयदेखि भारतीय मूलका लगानीकर्ता र नेपालकै कतिपय ठूला घरानाहरुले समेत कालोधन लगानी गर्दै आएका चर्चा बेला बेला हुने गर्छ । कालोधनको सोधखोज हुन थालेपछि यसले सेयर बजारलाई घटाउन मद्धत गरेको विश्लेषण गर्नेहरु समेत छन् । यदि मोदीको नोटबन्दीपछिको सुनबन्दी अस्त्र सफल भयो भने नेपालले समेत त्यस्तै कदम चाल्न सक्नेछ । जसका कारण नेपालमा समेत वर्षौदेखि सुनमा कालोधन लगाउनेहरु भागाभाग हुनसक्छ । भारतले चाल्न लागेको ऐतिहासिक कदमको कुनै न कुनै तरंग नेपालसम्म पनि पर्नसक्ने विश्लेषक बताउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago