काठमाण्डौ । बेलायतको प्रधानमन्त्रीको कार्यालयले युरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिटकै गतिरोधका कारण बेलायत र अमेरिकाबीच हुन लागेको व्यापार सम्झौता लगभग असम्भव रहेको चेतावनी दिएसँगै बेलायतको उक्त भनाई सार्वजनिक भएको हो । “यो व्यापार सम्झौता अब होला भन्ने लाग्दैन । हामी बेलायतसँग व्यापार सम्झौता गर्न सक्दैनौं,” बेलायती मतदातालाई प्रभावित तुल्याउने गरी एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भन्नुभएको छ।

ब्रेक्जिटमा संसदभित्र सहमति नजुटेपछि बेलायतमा आगामी डिसेम्बर १२ मा संसदका लागि मध्यावधि चुनाव हुँदैछ । युरोपेली संघबाट बेलायतको बहिर्गमन हुनासाथ दुबै देशबीच “निकै राम्रो व्यापार सम्झौता” गर्न आफू तयार रहेको गत सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो । तर राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले अन्यौल बढाएको छ ।

अमेरिकी राष्ट्रपतिले बेलायती मुख्य विपक्षी नेता जेरेमी कोर्बिनमाथि निरन्तर आक्रमण गरिरहनु भएको छ । ट्रम्पले सन् २०१६ को जनमतसंग्रहमा मुख्य भूमिका निर्वाह गरेका नाइजेल फाराजसँग एकता गर्न पनि प्रधानमन्त्री जोन्सनलाई सुझाव दिनुभएको छ । “कोर्बिन त बेलायतका लागि निकै खराब मानिस हुन्,” ट्रम्पले नाइजेल फाराजलाई फोन गरी बताउनुभएको बेलायती रेडियो स्टेशन एलबिसीले प्रशारण गरेको छ । “म तपाईं र बोरिस मिलेको हेर्न चाहन्छु, र मेरो विचारमा मुलुकका लागि यो निकै राम्रो हुनेछ ।”

नयाँ ब्रेक्जिट पार्टी गठन गर्नुभएका फाराजले युरोपेली संघबाट कुनै सम्झौता बेगर नै बेलायत बाहिरिनु उपयुक्त हुने भन्दै चुनावी प्रचार गरिरहनु भएको छ । फाराजले चुनावी गठबन्धन बनाउन आग्रह गरे पनि प्रधानमन्त्री जोन्सनले उक्त प्रस्ताव अस्वीकार गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको अन्तर्वार्ता प्रशारण भएलगत्तै बेलायती संसदमा मुख्य विपक्षी दलका नेता कोर्बिनले ट्वीट गर्दै बोरिस जोन्सनलाई जिताउन ट्रम्पले बेलायतको चुनावमा हस्तक्षेप गर्न कोसिस गरेको आरोप लगाउनुभएको छ । -रासस/एएफपी