काठमाण्डौ । आर्थिक रुपमा शक्तिशाली विश्वका दुई ठूूला राष्ट्र अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार युद्धमा पूर्णबिराम लाग्ने संकेत देखिएको छ ।

विश्वभरको अर्थ व्यवस्थालाई प्रभाव पार्न सक्ने यी दुई राष्ट्रबीच व्यापार युद्ध अन्त्य गर्ने विषयमा हुन लागेको सहमतिले विश्वभर खुसीको महौल सिर्जना भएको छ । व्यापार युद्ध अन्त्य हुने पुष्टि गर्दै चिनियाँ सरकारी मिडियाले यस विषयमा दुई देशबीच पहिलो चरणको मस्यौदामा सैद्धान्तिक सहमति भएको जनाएको छ ।

अमेरिका र चीनबीच पछिल्लो १८ महिनादेखि व्यापार युद्ध चलिरहेको छ । जसको परिणामस्वरुप यी दुई ठूूला देशका अलावा विश्वका अन्य देशले समेत आर्थिक मन्दीको सामना गर्नु परिरहेको छ ।

खबरका अनुसार अमेरिका र चीनबीच हुुन लागेको सहमति परस्पर सम्मानको सिद्धान्तमा आधारित रहेको छ । यसले व्यापार युद्ध अन्त्य गर्ने दुुवै देशले विश्वास लिएका छन् ।

अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थ व्यवस्थालाई नराम्ररी प्रभाव पारेको बेला अमेरिकाले २५० अर्ब डलर मूल्यबराबरकोे चिनियाँ सामानमा कर लगाएको थियो । अमेरिकाको यो कदमको जबाफ दिने क्रममा चीनले पनि ११० अर्ब डलर मूल्यको अमेरिकी सामानमा आयात शुल्कको घोषणा गरेको थियो ।

यसै क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषले यो व्यापार युद्ध लामो समय जारी रहे यसले विश्वको आर्थिक उन्नतिलाई रोक्ने जनाएको थियो । तथापि अब व्यापार युद्ध अन्त्य हुने विषयमा दुुई देशबीच हुन लागेको सकारात्मक सहमतिले विश्वको आर्थिक उन्नतिले गतिलिने विश्वास गरिन थालिएको छ ।

सहमतिअनुुसार अब चीनबाट अमेरिका निर्यात हुुने १२० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकाले अहिले जारी रहेको १५ प्रतिशत आयात शुुल्कलाई आधिकम गर्नेछ । आइतबारबाट लागू हुने प्रस्ताव गरिएको नयाँ भन्सार शुल्कलाई पनि तत्काललाई रद्द गरिएको छ । जसको परिणामस्वरुप करिब २५० अर्ब डलरको चिनियाँ सामानमा लाग्ने भनिएको २५ प्रतिशत कर अब नलाग्ने भएको छ । जसमा मुख्य रुपमा मोबाइल र ल्यापटप रहेका छन्।

अब नयाँ सहतिअनुसार १२० अर्ब डलरको सामानमा ७.५ प्रतिशतको हिसाबले कर लाग्ने छ ।

रिपोर्टका अनुसार अमेरिकाले चीनसामुु केही चुनौतीपूर्ण सर्तहरु पनि अगाडि सारेको छ । सर्तअनुसार चीनले आगामी दुई वर्षभित्र २०० अर्ब डलरबराबरको अमेरिकी सामान किन्नुपर्ने छ । यसका साथै प्रत्येक वर्ष करिब ४०–५० अर्ब डलर बराबरको अमेरिकी कृषिउत्पादन पनि खरिद गर्नुपर्नेछ । – एजेन्सी