काठमाण्डौ । चीनका सबैभन्दा धनाढ्य व्यक्ति तथा ई–कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक माले चीनमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरस नियन्त्रणमा सहयोग पुर्याउन १ सय मिलियन चिनियाँ युआन (१४.४ मिलियन अमेरिकी डलर) सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेका छन्।
संस्थापक ज्याक माले आफ्नो नाममा रहेको ज्याक मा फाउन्डेसनमार्फत उक्त सहयोग प्रदान गर्ने निर्णय गरेका हुन् । हाल दुई चिनियाँ सरकारी अनुसन्धान संस्थालाई करिब ४० मिलियन चिनियाँ युआन प्रदान गरिसकेको फाउन्डेसनले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । बाँकी ६० मिलियन युआन भने कोरोनाभाइरसको नियन्त्रण र उपचारक्षेत्रमा प्रयोग हुने फाउन्डेसनले स्पष्ट पारेको छ ।
गत शनिबार फाउन्डेसनले भाइरसबाट अतिप्रभावित चीनको वुहान र हुवेई प्रान्तमा आवश्यक औषधि र चिकित्सकीय सहायताका लागि १ बिलियन चिनियाँ युआन प्रदान गर्ने घोषणा गरेको थियो । कम्पनीले वैज्ञानिक अनुसन्धान संस्थालाई भाइरसविरुद्धको भ्याक्सिन बनाउन आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गर्न सहयोग गर्ने पनि जनाएको छ ।
चिनियाँ सरकारी पत्रिका चाइना डेलीका अनुसार चिनियाँ टेक्नोलोजी कम्पनीलाई भ्याक्सिन बनाउन प्रायोजन गर्ने कम्पनीमा अलिबाबा अग्रस्थानमा रहेको छ । अलिबाबासँगै सहयोग प्रदान गर्ने अन्य चिनियाँ कम्पनीमा हुवावे, ई–कमर्स कम्पनी टेन्सेन्ट, सर्च इन्जिन बाइडु, टिकटिकका मालिक बाइट ड्यान्स, फुड डेलिभरी कम्पनी मिटुवान डियानपिङ छन् ।
कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउन अहिले अमेरिकी र चिनियाँ वैज्ञानिकहरु अहोरात्र खटिरहेका छन् । तर भ्याक्सिन उपलब्ध हुन भने १ वर्षभन्दा बढी समय लाग्ने अनुसन्धानमा संलग्न अमेरिकी वैज्ञानिकले बताएका छन् ।
चीनमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३२ पुगिसकेको छ भने ६ हजारभन्दा बढी भाइरसबाट संक्रमित भइसकेका छन्।
त्यस्तै नेपाल, अस्ट्रेलिया, अमेरिकालगायत विभिन्न देशमा ८० जनाभन्दा बढीमा यो संक्रमण देखिएको छ । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago