काठमाण्डौ । माछापुच्छ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको जिम्मेवारीमा रहेका बैंकर कृष्ण सुवेदी नवील बैंक लिमीटेडको प्रबन्धक(म्यानेजर) नियुक्त भएका छन् । 

सुवेदीले करिब २ दशकदेखि बैंकिङ तथा कर्पोरेट क्षेत्रमा काम गर्दै आएका छन् । 

दायित्व व्यवस्थापन, जनसम्पर्क, बजार विस्तार तथा व्यवस्थापन, बाह्य मामिला व्यवस्थापन, सञ्चार सम्बन्ध, अन्तर्राष्ट्रिय बैंकिङ लगायतका क्षेत्रमा छोटो समयमै राम्रो दख्खल बनाएका उनलाई शाखा तथा व्यवसाय बिस्तारमा आक्रामक बनी विभिन्न बैंकबाट अनुभवी र राम्रा कर्मचारीलाई भित्र्याइरहेको नवीलले सोही अभियानअन्तरगत सुवेदीलाई पनि भित्र्याएको हो । 

सुवेदीले केही दिनभित्रै औपचारिक रुपमा नवीलमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । 

सामान्य जागिरबाट करिअर सुरु गरेका सुवेदी बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपाल (कोकाकोला)मा लामो समय काम गरेका थिए । त्यहाँबाट एनएमबी बैंक पुगेका सुवेदी त्यसपछि माछापुच्छ्रे बैंक सुधार अभियानमा लागेका सुमन शर्माको अनुरोधमा एनएमबी छाडेर त्यहाँ पुगेका थिए । पुनः नवील बैंक बलियो बनाउने अभियानमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै त्यहाँ पुगेका हुन् । 

सन् २०११ मा एनएमबी बैंकबाट बैंकिङ करिअर सुरु गरेका सुवेदीले त्यहाँ साढे ८ वर्ष विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । एनएमबीको सेवाबाट बाहिरिनुअघि उपप्रबन्धकको जिम्मेवारीमा रहेका सुवेदीले त्यहाँ प्रमुख संस्थागत बैंकिङ, बाह्य मामिला र सञ्चार सम्बन्धको दायित्व निर्वाह गरेका थिए ।

सन् २००० मा सुवेदीले जागिरको पहिलो खुड्किलो टेकेका थिए, होटेल चितवन केथ्मान प्रालिबाट । त्यतिबेला उनले औपचारिक शिक्षा समेत पूरा गरेका थिएनन् । त्यहाँबाट बोटलर्स नेपालमा फड्को मारेका उनले त्यहाँ ८ वर्ष विभिन्न जिम्मेवारी सम्हाले । बजार विस्तार तथा व्यवस्थापन, जनसम्पर्क लगायत क्षेत्रमा उनी विशेष दख्खल राख्छन् ।

होटेल, बहुर्राष्ट्रिय कम्पनी तथा बैंकिङ क्षेत्रमा झन्डै २० वर्षको अनुभव बटुलेका सुवेदीले निजी क्षेत्र र सरकारी संस्थाबीच समन्वय कायम गरेर काम गर्दै आएका छन् ।