काठमाण्डौ । एशियाली विकास बैंक(एडीबी)ले कोरोना भाइरस महामारीविरुद्धको राहात प्याकेजको आकार दुई गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पुर्याइएको जनाएको छ । 

सोमबार स्वीकृत राहात प्याकेज सहायतालाई छिटो र थप लचिलो वितरण गर्न तथा यससम्बन्धी कार्यहरु सुव्यवस्थित गर्नका लागि आवश्यक उपायहरु समेत स्वीकृत गरिएको एडीबीले जनाएको छ । 

यसअघि मार्च १८ मा एडीबीले ६.५ अर्ब अमेरिकी डलर बराबरको राहात प्याकेज मात्र घोषणा गरेको थियो । यो आकारलाई दोब्बरले वृद्धि गरी अब भने २० अर्ब अमेरिकी डलर पुर्याइएको हो । कुल २० अर्ब डलरमध्ये २.५ अर्ब छुट तथा अनुदान स्रोतहरु रहेका बताइएको छ । 

‘यो महामारीले एशिया र प्रशान्त क्षेत्रमा आर्थिक, सामाजिक र विकासको क्षेत्रमा गम्भीर धक्का पुर्याउने  देखिएको छ । गरीबी न्यूनिकरणमा उल्टो प्रगति देखिने अवस्था सिर्जना भएको छ भने यसका कारण यो क्षेत्रको अर्थतन्त्र मन्दीमा जाने खतरा बढेको छ ।’ एडीबीका प्रेसिडेन्ट मसात्सुगु असाकावाले भनेका छन्–‘हाम्रो बोर्डको बलियो समर्थन र साथका कारण विस्तारित र व्यवसायिक सहयोग प्याकेज संभव भएको हो । यो अन्तगर्त अधिक छिटो, लचिलो ढंगले हाम्रा विकासशील सदस्य देशहरुलाई राहात उपलब्ध गराइनेछ । ताकि महामारी र त्यसपछिको आर्थिक मन्दीलाई सामान गर्न सबै सक्षम होउन् ।’ 

एडीबीले अप्रील ३ मा सार्वजनिक गरेको एक अध्ययनले कोरोना महामारीका कारण विश्वकै जीडीपी ग्रोथमा  २.३ देखि ४.८ प्रतिशतको धक्का लाग्नसक्नेछ । क्षेत्रीय वृद्धिदर गत वर्षको ५.२ को तुलनामा तल झरी २.२ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।