काठमाण्डौ । अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनाका लागि बन्द गर्ने घोषणा गरिएको छ।

विश्व महामारी कोरोनाभाइरससँग सम्बन्धित नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार राति ह्वाइट हाउसमा  राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णय अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागू बताएका छन्। ‘अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि भने यो निर्णय लागू हुने छैन’, उनले भनेका छन्। 

ट्रम्पले अमेरिकामा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर रहने पनि बताएका छन्। उनले भनेका छन्, ‘यदि आवश्यक परेमा यो निर्णय थप ३० दिन वा सोेभन्दा बढी समयसम्मका लागि  बढाउन सकिन्छ।’

यसअघि ट्रम्पले ट्विट गर्दै आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए। तर, यसबारे थप व्याख्या गरिएको थिएन।

अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ थियो। ट्रम्पले भनेका थिए, ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउन कार्यकारी आदेश जारी हुँदैछ। यो आदेश कठोर हुनेछ।’

यद्यपि यो कार्यकारी आदेशमा केही छुट पनि हुन सक्ने ट्रम्पको भनाइ थियो। – एजेन्सी