काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि अस्ट्रेलियाले जी–२० राष्ट्रहरुलाई वन्यजन्तुको मासु व्यापारमा रोक लगाउन अपिल गरेको छ।

अस्ट्रेलियाले अहिलेको परिस्थितिमा वन्यजन्तुको मासु मानवस्वास्थ्य र कृषि क्षेत्रका लागि खरतनाक रहेको बताउँदै यस्तो अपिल गरेको हो। यो अपिलले अस्ट्रेलिया र चीनबीचको सम्बन्धमा तनाव आउन सक्ने विश्लेषकहरु बताउँछन्। यसअघि पनि अस्ट्रेलियाले चीनबाट फैलिएको कोरोना महामारीका विषयमा अन्तर्राष्ट्रिय जाँच गर्न माग गरिसकेको छ।

कोरोनाभाइरसको उत्पत्ति चीनको वुहान सहरबाट भएको हो। यस्तो दाबी गरिन्छ कि वुहान सहरको वेट मार्केट (मासु) बजारबाट यो भाइरस फैलिएको हो।

वुहान सहरको वेट मार्केटमा वन्यजन्तुको मासु व्यापार हुन्थ्यो। अहिलेसम्म यही मानिँदै आएको छ कि यो भाइरस जनावरबाट मानिसमा फैलिएको हो। मुख्य गरी चमेरा र सालकबाट यो भाइरस मानिसमा सरेको प्रारम्भिक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ। 

कोरोनाभाइरस संक्रमण फैलिएसँगै चीनले गत जनवरी २३ देखि वुहानको वेट मार्केट अस्थायी रुपमा बन्द गरेको छ। अहिले चीनले वन्यजन्तुको मासु व्यापारसम्बन्धी कानुनको समीक्षा गर्दै आगामी दिनमा यसलाई स्याथी रुपमा प्रतिबन्ध लगाउने तयारीमा रहेको समाचार एजेन्सीहरु बताउँछन्। 

अस्ट्रेलियाका कृषिमन्त्री डेभिड लिटिल प्राउडले एक अस्ट्रेलियाली टीभी च्यानलसँगको अन्तर्वार्तामा जी–२० देशका अर्थवयवस्थासँग जोडिएका सरकारी अधिकारीहरुलाई वेट मार्केटमा वन्यजन्तुको मासुको व्यापार बन्द गर्नका लागि योजना बनाउन आग्रह गरेको बताए। ‘वन्यजन्तुको मासुको व्यापार मानवस्वास्थ्य र कृषि क्षेत्रकाका लागि खतरा हुन सक्छ’, उनले भने।

यसअघि अमेरिकी अधिकारहिरुले पनि एसियामा रहेका सबै वेट मार्केटमा प्रतिबन्ध लगाउन माग गरेका थिए। – एजेन्सी