काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् । 

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलिसकेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेशन हेर्ने गरी जिम्मेवारी दिइएको बैंकले जनाएको छ । 

बैंकिङ्ग क्षेत्रमा २० बर्षको अनुभव भएका सर्जुकुमार थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । 

सन् २००० बाट बैंकिङ्ग करिअर सुरु गरेका थापासँग बैंक अफ काठमाण्डौँ तथा सानिमा बैंकमा काम गरेको अनुभव छ । उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकर हुन् । 

विगत ६ वर्ष देखि माछापुच्छ्रे बैंकमा आवद्ध थापालाई बैंकिङ क्षेत्रमा बैंकिङ्ग बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छ । 

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गरेका विश्वम्भर न्यौपानेसँग बैंकिङ्ग क्षेत्रमा २२ बर्षको अनुभव रहेको छ । जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिङ सञ्चालनमा राम्रो दख्खल राख्छन् ।साथै, सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत छन् । उनीसँग एभरेष्ट बैंक तथा एन.आइ.सि. बैंकमा विभिन्न भूमिकामा कार्य गरेको अनुभव छ ।