काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको असरका कारण अस्ट्रेलियामा ६ लाख मानिसको जागिर गुमेको छ।

यही मे महिनाको मध्यसम्म जागिर गुमाउनेको यो संख्या कुल रोजगारीको ६.२ प्रतिशत हो। जब कि अप्रिलमा यो संख्या ५.२ प्रतिशत रहेको थियो। 

हालै अस्ट्रेलियाका अर्थशास्त्रीहरुले कुल रोजगारमध्ये ८.३ प्रतिशतले मे महिनाको मध्यसम्म जागिर गुमाउने प्रक्षेपण गरेका थिए। यो देखिएको आँकडा भने कम रहेको छ। 

उता विश्वभर कोरोना संकटबीच श्रम बजारमा गुमिरहेको रोजगारीको तुलनामा अस्ट्रेलियाको स्थिति खासै खराब नरहेको विश्लेषकहरु बताउँछन्। यद्यपि विश्लेषकहरुले यो संख्याबाट अर्थव्यवस्थाको वास्तविक नोक्सानी पत्ता लगाउन नसकिने जनाएका छन्। किनकि अस्ट्रेलिया सरकारले कल्याणकारी कार्यक्रम सञ्चालन गरेसँगै स्थिति नियन्त्रणमै रहेको छ। 

अहिले ६० लाख अस्ट्रेलियाली नागरिकलाई सरकारले पे सब्सिडी दिइरहेको छ। १० लाख अस्ट्रेलियाली नागरिकले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन्। दुवै मिलाउने होयो करिब ४० प्रतिशत हुन आउँछ। 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अहिले अवस्था निकै कठिन रहेको बताएका छन्। ‘यो हैरान गर्ने अवस्था हो तर अप्रत्याशित भने होइन’, उनले भनेका छन्, ‘आउने महिनामा अवस्था झनै भयावह हुन सक्छ तर लकडाउन खुकुलो पारिएपछि अवस्थामा केही सुधार हुने आशा गर्न सकिन्छ।’

अस्ट्रेलियाली सरकारको अनुमानमा बेरोजगारी दर जुन महिनासम्म १० प्रतिशत हुन सक्छ। यो अवधिमा जीडीपीमा पनि १० प्रतिशतकै गिरावट आउन सक्ने अस्ट्रेलियाली सरकारको प्रक्षेपण छ। – एजेन्सी