काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश दरमै प्रभाव पर्ने गरी नेपाल इन्भेष्टमेन्ट बैंकको डूबेको २ अर्ब १० करोड रुपैयाँ बराबरको रकम फिर्ता हुने भएको छ ।
बैंकले इटलीको ‘ट्रिबुनाल डी बोलोग्ना’मा मुद्दा दायर गरेको बैंक काउण्टर ग्यारेण्टीमा भुक्तानी सम्बन्धी मुद्धा १४ महिनाको अथक प्रयासपछि जितेको हो ।
योसँगै डूबेको २ अर्ब १० करोड नेपाली रुपैयाँ बराबरको रकम देशमा फिर्ता हुने भएको छ ।
तनहुँ जलविद्युत परियोजनाका लागि इटालियन ठेकेदार कम्पनी मुराटोरी इ–केमेन्टिस्टी (सीएमसी)ले कार्यसम्पादनका लागि बैंक ग्यारेन्टी दिएको थियो। तर, कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीबापतको रकम इन्भेष्टमेन्ट बैंकसँग दाबी गरेको थियो। काउण्टर ग्यारेण्टी बसेका कारण बैंकले तनहुँ हाइड्रोलाई १५ महिनाअघि दाबी भुक्तानी गरिदिएको थियो ।
सन् २०१८ को सेप्टेम्बरमा इटलीको बोलोग्नास्थित इन्टेसा सनपाउलो(एसपीए)ले नेपाल इन्भेष्टमेन्ट बैंकलाई काउण्टर ग्यारेण्टी इस्यू गरेको थियो । यसअघि इटालीको अदालतले जमानतबापत जफत भएको रकमको काउन्टर भुक्तानी स्थानीय इन्टेसा सानपओलो बैंकले इन्भेस्टमेन्ट बैंकलाई दिन नपर्ने फैसला सुनाएको थियो । तर, इन्भेष्टमेन्ट बैंकले सो फैसलाविरुद्ध पुनरावेदन गरेको थियो । यही विषयमा अदालतका ३ न्यायाधीशको संयुक्त इजलासले काउन्टर ग्यारेन्टी दिने स्थानीय बैंकलाई इन्भेस्टमेन्ट बैंकको भुक्तानी दिन आदेश दिएको हो ।
‘हामीले इटलीमा मुद्धा जितेका छौ ।’ नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बिजशालासँग भने–‘डूबेको रकम फिर्ता ल्याउनका लागि हामीले आजै क्लेम गरिसकेका छौ । यसका लागि हामी इटलीको बैंकलाई पैसा भुक्तानीका लागि निरन्तर तागेता गर्छौ ।’
पाण्डेका अनुसार बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १९ करोड रुपैयाँ हाराहारी) बराबरको काउण्टर ग्यारेण्टी दिएको थियो ।
काउण्टर ग्यारेण्टीबापत तनहुँ हाइड्रोलाई भुक्तान भइसकेको रकम फिर्ता नहुँदा बैंक निकै ठूलो दवाबमा थियो । नेपाल राष्टबैंकले लगातार डूबेको रकम बराबरको प्रभिजनिंग गर्न भनेपछि चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा सो बापतको प्रभिजनिङ राख्ने बैंकले तयारी नै सुरु गरिसकेको थियो । यसले बैंकको खराब कर्जा ह्वात्तै बढ्ने अवस्था थियो । तर, मुद्धा जितेपछि यो अवस्था टरेको छ ।
बैंक काउण्टर ग्यारेण्टीका कारण २ अर्ब बढी रकम फिर्ता नहुँदा नेपाल राष्ट्रबैंकको निर्देशनमा बैंकले गत वर्षको नाफाबाट ९७ करोड रिटेन राख्नुपरेको थियो, जसका कारण बैंकका लगानीकर्ताले पाउने लाभांश दर अघिल्ला वर्षको तुलनामा ह्वात्तै घटेको थियो । यहीकारण बैंकको दोश्रो बजार मूल्यमा समेत नराम्ररी प्रभाव परेको थियो ।
‘अब डूबेको रकम आउने भएपछि बैंकले यो क्वार्टरमा प्रभिजनिंग गर्नुपरेन । यस्तै, गत वर्षको नाफाबाट राखिएको ९७ करोड समेत बाँड्न मिल्ने भएपछि लगानीकर्ता उत्साहित हुने देखियो ।’ सेयर बजारका एक विश्लेषकले भनेका छन्।
डूबेको रकम उठ्ने भएपछि र यो वर्ष समेत बैंक नाफा राम्रो रहेका कारण लगानीकर्ताले यो वर्षको नाफाबाट निकै राम्रो रिटर्न पाउने अवस्था सिर्जना भएको छ ।
सिएमसीको काउण्टर ग्यारेण्टीमा डूबेको रकमको विषयमा बैंकको गत वार्षिक साधारणसभामा निकै ठूलो हंगामा समेत भएको थियो । सेयरधनीहरुले सो विषयमा प्रश्न उठाएपछि सीइओ पाण्डेले सो पैसा नडूब्ने उल्लेख गर्दै पैसा उठेपछि गत वर्षको वितरणयोग्य लाभांशबाट रिटेन राखिएको ९७ करोडलाई समेत समावेश गरी यो वर्ष बम्पर लाभांश दिने घोषणा गरेका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19