काठमाण्डौ । विश्वभर देखिएको आर्थिक र भूराजनीतिक अनिश्चितताका कारण विश्वका लगानीकर्ताहरु सुरक्षित सम्पत्तितर्फ आकर्षित भएकाले विश्लेषकहरुले यो वर्ष अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलर नाघ्ने प्रक्षेपण गरेका छन् । 

सोमबार स्पट गोल्डको मूल्य प्रतिऔंस १९३१.११ डलरमा कारोबार भएको थियो । यसअघि प्रति औंस १९४३.९२ मा कारोबार भएको थियो । यो मूल्य सन् २०११ को सेप्टेम्बरमा कायम अलटाइम हाईभन्दा धेरै हो। 

कमन वेल्थ बैंक अफ अष्ट्रेलियामा माइनिङ एण्ड एनर्जि कमोडीटिज विश्लेषकका रुपमा कार्यरत विवेकधर अबको केही महिनामा सुनको भाउ प्रतिऔंस २ हजार डलर पार गर्ने र मुख्य प्रश्न त्यसपछि कति वृद्धि हुन्छ भन्ने रहेको बताउँछन् । उनका अनुसार सुनको मूल्य प्रतिऔंस २ हजार डलरभन्दा बढी अर्थात २५०० डलर प्रतिऔंस पुग्नलाई अमेरिकाले ब्याजदर शून्यभन्दा तल झार्नुपर्ने हुन्छ । 

सुन र वास्तविक उत्पादकत्वबीच अप्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । वास्तविक उत्पादकत्व भनेको मन्दीका लागि समायोजन गरिएको लगानीको प्रतिफल हो । जब वास्तविक उत्पादकत्व घट्छ, सुनको मूल्य बढ्छ । त्यस्तै वास्तविक उत्पादकत्व बढ्दा, सुनको मूल्य घट्ने गर्दछ । यस्तो बेला सुन(अनुत्पादक सम्पत्ति)लाई होल्ड गर्दा अपरचुनीटी कस्ट घट्ने गर्दछ । 

अमेरिकाको केन्द्रीय बैंकले यो वर्ष बेञ्चमार्क रेटलाई शून्यको नजिक राखेको छ र जापान र युरोपमा जस्तै नकारात्मक बनाउने बारेमा छलफल भइरहेको छ । 

अमेरिकाको प्रिसियस मेटल्स् डिलर जे रोटबार्ट एण्ड कम्पनीका म्यानेजिङ पार्टनर जोसुहा रोटबार्टले पनि यो वर्षको अन्त्यसम्म सुनको भाउ प्रतिऔंस २ हजार डलरभन्दा माथि जानसक्ने अनुमान लगाएका छन् । उनका अनुसार कोरोना महामारी र खस्कँदो विश्व अर्थतन्त्रका कारण लगानीकर्तामा देखिएको त्रासका कारण सुनको बिक्रीमा उछाल आइरहेको छ । विश्वका सबै देशमा फैलिएको कोरोनाभाइरसको प्रभाव रोकिने कुनै पनि संकेत देखिएको छैन । कोरोनाभाइरस माथि एकपटक नियन्त्रण पाइसकेका केही देशहरुमा पुनः संक्रमणका केसहरु वृद्धि हुन थालेका छन् । जोन हपकिन्स युनिर्भसिटीको आँकडा अनुसार अहिले विश्वभर १ करोड ६० लाख मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् भने ६ लाख ४८ हजारको मृत्यु भइसकेको छ । 

अहिले सरकारले नियन्त्रण गर्न नसक्ने गरी देखिएको खुकुलो मौद्रिक र आर्थिक नीति, विश्व आर्थिक मन्दी र बेरोजगारका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार डलरभन्दा माथि पुग्ने विश्लेषकहरुले अनुमान लगाएका छन् । बहुमूल्य पहेँलो धातुको रुपमा रहेको सुनको मूल्य यो वर्ष ३० प्रतिशतले वृद्धि भइसकेको छ ।