काठमाण्डौ । अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले विश्वमा लाखौँ मानिसको मृत्यु केवल कोरोनाले मात्रै नभई स्वास्थ्य सेवा र अर्थतन्त्रमा आउने अत्याधिक बोझका कारण हुने बताएका छन्।

द इकोनोमिस्ट टाइम्ससँगको अन्तर्वार्तामा बिल गेट्सले कोरोनाकालमा ९० प्रतिशतभन्दा बढी मृत्यु कोरोनाले नभई अन्य रोग र गरिबीका कारण हुने बताएका छन्। लकडाउनजस्ता प्रतिबन्धहरुले मानिसलाई औषधिको पहुँचबाट टाढा राख्ने हँुदा अन्य रोगबाट मृत्यु हुनेको संख्या बढ्ने उनको तर्क छ। 

गरिब देशहरुमा त कोरोनाबाट हुने नोक्सानीको यकिन आँकलन गर्न पनि मुश्किल रहेको बताएका छन्। यसका साथै उनले कोरोनाविरुद्धको प्रभावकारी भ्याक्सिन सन् २०२१ को अन्त्य सम्ममा बजारमा आइसपुग्ने अनुमान लगाए। यस अवधिमा कोरोना संक्रमितको संख्यमा पनि कमी आउन सक्ने उनको विश्लेषण छ। 

अन्तर्वार्ताका क्रममै उनले बिल गेट्स फाउन्डेसनले महामारीको समयमा ३५० मिलियन डलरभन्दा धेरै आर्थिक सहयोग प्रदान गरेको जानकारी दिए। धेरै रकम आवश्यक भएकाले उनले यो सहयोग पर्याप्त नभएको समेत बताए। यसका साथै उनले कोरोना महामारीका कारण विश्वमा भइरहेको आर्थिक नोक्सानलाई रोक्नका लागि कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्न अबौँ रुपैयाँ खर्च गर्न आवश्यक रहेको बताए। – एजेन्सी