काठमाण्डौ । अमेरिकाले मलेसियाबाट आयात हुने पाम तेलको आयातमा रोक लगाएको छ। 

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभाग (सीबीपी) ले मलेसियाको पाम तेल उद्योगमा व्यापक श्रम शोषण हुने गरेको आरोप लगाउँदै पाम तेलको आयातमा रोक लगाएको हो। हिजो बुधबारबाट कार्यान्वयनमा आएको यो निर्णयको मुख्य उद्देश्य मलेसियाको कृषिमा आधारित कम्पनी एफजीभी होल्डिङग्स् बर्हाडबाट उत्पादित पाम तेलको आयातलाई रोक लगाउनु रहेको छ। 

सीबीपीले गत वर्ष यो कम्पनीमा श्रमशोषणको अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा त्यहाँ काम गर्ने श्रमिकहरुलाई जबरजस्ती श्रममा लगाइने, शारीरिक र मानसिक यातना दिइने गरेको र श्रमिकको परिचय र ज्यालासम्बन्धी कागजात लुकाउने गरिएको तथ्य फेला पारेको सीबीपीले जनाएको छ। 

यसका साथै सीबीपीले पाम तेलको उत्पादन प्रक्रियामा त्यहाँ बाल श्रमिकसमेत प्रयोग गर्ने गरिएको तथ्य फेला पारेको जनाइएको छ। ‘अमेरिकालाई आपूर्ति शृंखलामा हुने गरेको श्रम शोषण मान्य छैन। अमेरिकामा निर्यात गर्ने सबै समुदायले आफ्नो आपूर्ति शृंखला सफा भएको सुनिश्चित गर्न आवश्यक छ’, सीबीपी ट्रेड अफ अफिसका एक्जिक्युटिभ असिस्टेन्ट कमिस्नर ब्रेन्डा स्मिथले भने। 

सीबीपीले मलेसियाको एफजीभी होल्डिङग्सबाट उत्पादित पाम तेलका लागि ‘विथहोल्ड रिलिज अडर’ जारी गरेको छ। यसले एजेन्सीहरुलाई यी उत्पादनहरु अमेरिकाको बन्दरगाहमा जफत गर्न र आयातकर्तालाई त्यो उत्पादनहरु निर्यात गर्न वा पाम तेल बिना कुनै श्रम शोषणका साथ उत्पादन भएको प्रमाणित गर्न लगाउन अनुमति प्रदान गर्नेछ। – एजेन्सी