 
                     
                                
                             
                                    काठमाण्डौ । स्थापनाको २५ वर्षे लामो इतिहासमा पहिलोपटक विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को बागडोर महिलाको हातमा पुग्ने भएको छ।
डब्ल्यूटीओको रिक्त महानिर्देशक पदको उम्मेदवारका रुपमा नाइजेरियाकी एनगोजी ओकोन्जो लेबेइला र दक्षिण कोरियाकी यु म्युङ हीको नाम अगाडि सारिएसँगै अबको नेतृत्व महिलाको हातमा पुग्ने पक्का भएको हो। डब्ल्यूटीओले बिहीबार विज्ञप्ति जारी गर्दै महानिर्देशक पदको अन्तिम उम्मेदवारका रुपमा यी दुई महिलाको नाम सार्वजनिक गरेको छ।
डब्ल्यूटीओ चीन र अमेरिकाबीचको व्यापार युद्धको बीचमा फसेकाले तत्कालीन महानिर्देशक रोबर्टाे एजिभेडोले आफ्नो पदावधिको एक वर्षअघि अर्थात गत अगस्तमा पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएसँगै डब्ल्यूएचओ नेतृत्वविहीन अवस्थामा छ।
विश्वका देशहरुबीच खुला व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् १९९५ मा डब्ल्यूटीओको स्थापना भएको थियो। डब्ल्यूटीओले अन्तर्राष्ट्रिय व्यापारका लागि कानुनको निर्माण गर्नुका साथै आफ्ना १६४ सदस्य राष्ट्रबीच उत्पन्न विवाद समाधान गर्न मध्यस्ताको भूमिका निर्वाह गर्ने काम गर्दछ।
डब्ल्यूटीओको महानिर्देशकको रुपमा अगाडि सारिएकी ओकोन्जो इबेला नाइजेरियाकी अर्थशास्त्री र पूर्वअर्थमन्त्री हुन्। उनीसँग विश्व बैंकमा २५ वर्ष काम गर्दै बैंकको सञ्चालन समितिको एमडी पद सम्हालेको अनुभव छ।
ओकोन्जो सन् २०१८ मा ट्विटर (टीडब्ल्यूटीआर) को बोर्ड अध्यक्ष रही काम गरेकी थिइन्। यस्तै उनले भ्याक्सिनको उपलब्धतालाई सुधार गर्नेका लागि निजी र सार्वजनिक क्षेत्रलाई एक ठाउँमा उभ्याउने उद्देश्य लिएको अन्तर्राष्ट्रिय संगठन गाभीको सञ्चालक समितिको अध्यक्षका रुपमा समेत काम गरेकी थिइन्।
ओकोन्जोले डब्ल्यूटीओको महानिर्देशक पदको अन्तिम चरणमा पुग्दा खुसी लागेको प्रतिक्रिया दिइन्। उनले बिहीबार एउटा ट्विटमार्फत डब्ल्यूटीओका सदस्यहरुलाई आफ्नो उम्मेदवारीका लागि गरेको साथ र सहयोगप्रति धन्यावादसमेत ज्ञापन गरेकी छन्।
ओकोन्जोले महानिर्देशक पदका लागि दक्षिण कोरियाकी प्रथम महिला व्यापारमन्त्री यु म्युङ हीको सामना गर्ने छिन्। युले पनि महानिर्देशक पदको अन्तिम चरणमा छानिँदा एकदमै गौरभान्वित र खुसी लागेको भन्दै ट्विट गरेकी छन्।
डब्ल्यूटीओले सदस्य राष्ट्रहरु मुख्यतः अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व समाधान गर्न संघर्ष गरिरहेका बेला भावी महानिर्देशकले पदभार ग्रहण गर्नुपर्ने भएको छ। यसका साथै कोरोना महामारीले निम्त्याएको विश्वव्यापी आर्थिक मन्दीको चपेटाबाट आफ्ना सदस्य राष्ट्रहरुलाई बाहिर निकाल्ने चुनौती नयाँ महानिर्देशकमाझ रहनेछ।
यो सबै कुरा आगामी नोभेम्बरमा हुन गइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्भर रहनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूटीओको बारम्बार आलोचना गर्दै आइरहेका छन्। आफ्ना साझेदार क्यानडा, मेक्सिको र विश्वको दोस्रो ठूलो अर्थतन्त्र तथा सबैभन्दा ठूलो प्रतिस्प्रर्धी चीनमाथि भन्सार बढाउँदै अमेरिकाले प्रतिबन्धहरु लगाउँदै आइरहेको छ।
यसैगरी ट्रम्पले मुख्य व्यक्तिहरुलाई डब्ल्यूटीओमा नियुक्त हुन रोक लगाएका छन्। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19