लण्डन । फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशतसम्मको प्रभावकारिता देखाएपछि संसारभरका मानिसहरु उत्साहित भएका छन् । 

यसलाई कोरोना भाइरसविरुद्धको खोपको विकासमा नयाँ सफलता हात परेको रुपमा लिइएको छ । खोप उत्पादनकर्ताहरुले खोपको अन्तिम चरणको परीक्षण निकै प्रभावकारी देखिएको भन्दै यही महिना(नोभेम्बर)को अन्तदेखि नै आपतकालीन प्रयोगमा ल्याउन सकिने बताएका छन् । 

यो उत्पादक कम्पनीले बनाएको खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको थियो । यो क्रममा कुनै पनि प्रकारका गम्भीर साइड इफेक्ट देखिएको छैन । 

फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. अल्बर्ट बोलाले विज्ञान र मानवताका निम्ति यो महत्त्वपूर्ण दिन भएको बताए । उनले कोभिड १९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिडलाई जित्न सकिन्छ भन्न प्रारम्भिक रुपमा प्रमाणित गरेको बताएका छन् । 

हालसम्म विश्वभर दर्जनौं कोभिडविरुद्धका खोपहरु परीक्षणको अन्तिम चरणमा छन्  । विज्ञहरुका अनुसार तीमध्ये यसले भने राम्रो सम्भावना र नतिजा देखाएको छ । यो खोपमा प्रयोगात्मक विधि प्रयोग गरिएको छ, जसमा मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई तयार पार्न भाइरसको जेनेटिक कोडलाई इन्जेक्सनमार्फत् प्रवेश गराइन्छ ।
एजेन्सीहरुको सहयोगमा