काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ४१ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा २२ करोड ८७ लाखमा सीमित थियो । 

कोरोना कहरका बीच मुक्तिनाथ विकास बैंकको संचालन मुनाफा र खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ३२ करोड ५७ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ४२ करोड माथि पुगेको छ भने ५२ करोड ३६ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ५९ करोड ६ लाख माथि पुगेको छ । 

समीक्षा अवधिमा यो बैंकको वितरणयोग्य मुनाफा भने १५ करोड २१ लाख रुपैयाँ रहेको छ । 

यो बैंकको समीक्षा अवधिमा ६४ करोड ९८ लाख रिटेन अर्निङ भएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो अर्निङ ४९ करोड ७६ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले ६३ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ५१ अर्ब ९९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५७ अर्ब २९ करोड निक्षेप संकलन गरी ४७ अर्ब ६९ करोड बढी कर्जा परिचालन गरेको थियो । 

कुल ४ अर्ब ३२ करोड रुपैयाँ चुक्तापुँजी भएको यो बैंकको रिजर्बको आकार समेत ९० करोड ४२ लाखबाट बढेर १ अर्ब ५ करोड माथि पुगेको छ । 

बैंकले निस्क्रिय कर्जाको अनुपात समेत घटाएको छ । जसअनुसार अघिल्लो वर्षको यही अवधिसम्म ०.१३ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटेर ०.१२ प्रतिशतमा सीमित भएको छ । 

यो बैंकले कोरोनाकालमा समेत अधिकांश वाणिज्य बैंकको भन्दा राम्रो व्यवसाय गरेको पहिलो त्रैमासको सीडी रेसियोबाट पुष्टि हुन्छ । बैंकको सीडी रेसियो ७७.४२ प्रतिशत रहेको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिमा कायम ७७.३८ प्रतिशतभन्दा बढी हो । पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकको सीडी रेसियो ७२ प्रतिशतको हाराहारीमा सीमित छ । 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २७.२१ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४०.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.०१ गुणा, तरलता अनुपात २४.७५ प्रतिशत र पूँजीकोष अनुपात १२.५१ प्रतिशत रहेको छ ।