काठमाण्डौ । लामो समयदेखि नेतृत्वविहीन रहेको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को शीर्ष नेतृत्वमा नाइजेरियाकी एनगोजी ओकोन्जो इवेला आसिन हुने सम्भावना बढेको छ। यसो भए उनी डब्लुटीओको महानिर्देशक पदमा पुग्ने विश्वकै पहिलो महिला बन्ने छिन्।

दक्षिण कोरियाकी बलियो प्रतिद्वन्द्वी यु म्युङले गत शुक्रबार डब्ल्यूटीओको महानिर्देशकको दौडबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एनगोजी ओकोन्जोको सम्भावना बलियो बनेको हो। यु म्युङ दक्षिण कोरियाका व्यापारमन्त्री हुन्।

नाइजेरियाको पूर्ववित्तमन्त्री तथा अर्थशास्त्री इवेलालाई डब्ल्यूटीओका सदस्यहरु युरोपियन युनियन, चीन, जापान र अस्ट्रेलियाबाट समर्चन प्राप्त भइसकेको छ। तर ट्रम्प प्रशासनले भने दक्षिण कोरियाकी यु म्युङलाई समर्थन गरेको थियो।

डब्ल्यूटीओको नेतृत्व चयन गर्दा सबै सदस्यको सहमति आवश्यक पर्ने भएकाले इवेलाको सम्भावना कम देखिएको थियो। अमेरिकाले नयाँ व्यापार प्रतिनिधि नियुक्त नगर्दासम्म महानिर्देशक पदमा नियुक्त हुन इवेलाले प्रतीक्षा गर्नुपर्ने देखिएको छ। 

दक्षिण कोरियाली म्युङका अनुसार उनको उम्मेदवारी फिर्ता अमेरिकासँग सल्लाह गरेर नै भएको हो। 

जेनेभामा मुख्यालय रहेको खुला व्यापार नितिको वकालत गर्ने डब्ल्यूटीओका पूर्वमहानिर्देशक रोबोर्टो एजीभाडोले आफ्नो कार्यकाल सकिन एक वर्ष राजीनामा दिएका थिए। चीन र अमेरिकाबीचको व्यापार युद्धमा फसेपछि उनले समयअगावै राजीनामा दिएका थिए। 

ट्रम्प प्रशासन डब्ल्यूटीओको आलोचकका रुपमा रहेको थियो। ट्रम्प प्रशासनले डब्ल्यूटीओको उपस्थितिलाई नकार्दै क्यानडा, मेक्सिको, चीन र युरोपियन युनियनमाथि भन्सारशुल्क बढाएको थियो। – एजेन्सी