काठमाण्डौ। सन् २०२० मा दक्षिणपूर्वी एसिया (आसियाना) का ६ ठूला बजारमा नयाँ सवारीसाधनको बिक्री २८ प्रतिशतले घटेको छ। 

हालै प्रकाशित भएको रिपार्टका अनुसार सन् २०२० को चौथो त्रैमासमा यो क्षेत्रमा नयाँ सवारीसाधनको बिक्री १० प्रतिशतले घटेको छ। चौथो त्रैमासमा नयाँ सवारीसाधनको बिक्रीमा ८ लाख ५२ हजार २८६ युनिटले गिरावट आएको हो।

रिपार्टका अनुसार सन् २०२० को प्रारम्भिक चरणमा नयाँ सवारीसाधनको बिक्रीमा तीव्र गिरावट आएको थियो। वर्षको तेस्रो त्रैमासमा नयाँ सवारीसाधनको बिक्री २४ प्रतिशत र दोस्रो त्रैमासमा ६६ प्रतिशतले घटेको थियो। कोरोना महामारीका कारण शिथील बनेको अर्थतन्त्रका कारण यो क्षेत्रको नयाँ सवारी साधनको बिक्रीमा तीव्र गिरावट आएको हो। 

थाइल्यान्डजस्ता बजारमा चौथो त्रैमासमा स्थिरता आउन सुरु भएको थियो भने मलेसिया र भियतनाम जस्ता बजार भने रिबाउन्ड भएका थिए।  

बिक्रीमा आएको २१ प्रतिशत गिरावटका बाबजुत सन् २०२० मा नयाँ सवारीसाधन बिक्रीका रुपमा आसियाना क्षेत्रको सबैभन्दा ठूलो बजार थाइल्यान्ड रह्यो। सूचीको दोस्रो स्थानमा इन्डोनेशिया रह्यो। जसको बिक्री ४८ प्रतिशतले घट्यो। 

यस्तै मलेसिया तेस्रो स्थानमा रह्यो। जसको बिक्रीमा १२ प्रतिशतको गिरावट आयो। 

सन् २०२० मा फिलीपिन्सको नयाँ सवारीसाधन बिक्रीमा ३१ प्रतिशत र भियतनामको बिक्रीमा ७ प्रतिशतको गिरावट आएको छ। – एजेन्सी