काठमाण्डौ । मिडिया इन्टरनेशनलको संयोजनमा नेपालमै पहिलोपटक बैकिङ एक्स्पो शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।

एक भव्य समारोहका बीच नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले ३ दिने पृथक मेलाको उद्घाटन गरे । उद्घाटन समारोहलाई  सम्बोधन गर्दै डा. नेपालले बैंकिङ एक्स्पोले वित्तीय जागरुकता बढाउने उल्लेख गर्दै यस्ता कार्यक्रम भइरहनुपर्नेमा जोड दिए । विदेशमा यस्ता कार्यक्रम भए पनि नेपालमा बल्ल सुरु भएको उल्लेख  गर्दै उनले थपे, ‘अब यसलाई हामी सबै मिलेर निरन्तरता दिनुपर्छ ।’ उनले बैंकिङ एक्स्पोले नेपालमै उद्यमी बन्ने बाटो ख’ल्ने दाबी गर्दै सबैलाई स्टलको अवलोकनका लागि समय निकाल्न आह्वान समेत गरे ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले समेत सम्बोधन गरेका थिए । उनले बैंकिङ एक्स्पोमा संघको समेत सहकार्य रहेको उल्लेख गर्दै काठमाडौँकै मानिसमा पनि वित्तीय जागरुकताको आवश्यकता रहेको र यो कार्यक्रमले उक्त आवश्यकता पूरा गर्ने  बताए  ।

मेलामा सबै बैंक र तिनीहरुको सेवाको बिषयमा एकैठाउँमा अध्ययन गर्न सकिने हुँदा यसले बैंकिङ सूचना प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने उद्घाटन  कार्यक्रमका वक्ताहरुले बताएका छन्।  

बैंकिङ क्षेत्रबारे बुझ्न, जान्न र बैंकिङ कर्जाबाट उद्यमी बन्नका लागि यो महत्वपूर्ण अबसर भएको पनि उनीहरुको भनाई थियो ।

बैंकहरुका नयाँ स्कीम एवं नयाँ प्रविधिबारे पनि तीनदिने मेलामा जानकारी गराइने आयोजकको भनाई छ । बैंक, शेयर बजार र बीमाको एकै ठाउँमा सूचना प्राप्ति हुने हुँदा उद्यमशिलतामा लाग्न चाहानेका लागि बैंकिङ एक्स्पो निकै उपयोगी हुने आयोजकको दाबी छ ।

मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले म्यानेजमेन्ट, कृषि र पर्यटन अध्ययन गरेका विद्यार्थीका लागि नेपालमै उद्यमी बन्ने अबसर आएको बताए । उनले उद्यमशिलतामा लाग्न चाहाने जोकसैलाई यो कार्यक्रम निकै महत्वपूर्ण हुने दाबी गरे ।

नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोशिएसन लगायतका संस्थाहरुको सहकार्यमा सुरु भएको मेलामा बैंक, बिमा, मर्चेन्ट बैंक र सेयर बजारसँग सम्बद्ध स्टलहरु रहेका छन् ।

एक्स्पोमा विभिन्न बैंक तथा वित्तीय संस्था लगायत रेमिट्यान्स कम्पनी, नागरिक लगानी कोष, युवा स्वरोजगार कोष, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा कम्पनी लगायतले आ-आफ्ना सूचनामूलक स्टलहरु राखेका छन् । 

स्टलबाटै कुनै पनि बैंकको बैंक खाता पनि खोल्न सकिने छ ।  तीन दिने मेलामा ४६ बढी  स्टल छन् ।